• २०८३ भाद्र ७, आईतवार

पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान-२०८३ बाट अल्पविराम सम्मानित

काठमाडौँ ।

पोखराका स्रष्टा अल्पविराम पोखरेली पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान –२०८३ बाट सम्मानित भएका छन् । लघुकथा समाज,नेपालले १९ औँ लघुकथा दिवसको अवसरमा सम्मान अर्पिएको हो ।

कार्यक्रमका सभाध्यक्ष तुलसीहरि कोइराला, प्रमुख अतिथि अशेष मल्ल लगायत मञ्चासिन व्यक्तित्वहरू श्रीओम श्रेष्ठ ‘रोदन’, पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान संस्थापक सुरेशराज शर्मा र पूर्णप्रसाद ब्राम्हाणकी सुपुत्री मन्दिरा रिजालले फूलको माला, नगद र सम्मानपत्रसहित सम्मान अर्पिएका हुन् । लघुकथा गान बजाएर मधु पाठकले सञ्चालन गरेको सो कार्यक्रममा समाजका उपाध्यक्ष शुषमा चित्रकारले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । उक्त अवसरमा समाजलाई आर्थिक सहयोग प्रदान गर्ने मन्दिरा रिजाल र गीता चालिसेलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

हाम्रो लघुकथा केन्द्रका संस्थापक लता केसीको अनुसार लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले साहित्यिक स्रष्टा अल्पविराम पोखरेलीको व्यक्तित्वबारे जानकारी गराउँदै पोखरामा लघुकथाको विकासका लागि पोखरेलीले खेलेको नेतृत्वदायी भूमिकाबारे प्रकाश पारेका थिए। लघुकथाका अभियन्ताको रूपमा उनलाई सम्मान गर्न गरिएको बताए । सम्मानित स्रष्टा अल्पविराम पोखरेलीले पोखरादेखि मलाई बोलाएर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै प्रदायक संस्थालाई धन्यवाद दिए ।

सम्मान प्राप्त गर्दै लघुकथाको क्षेत्रमा अझ केही गरौँ भन्ने उर्जा मिलेको बताए । लघुकथाको क्षेत्रमा दुई संस्था समाज र प्रतिष्ठानबीच सहकार्य हुने विचार उनले बताए । कार्यक्रममा प्रमुख अतिथि मल्लले आफ्ना अग्रज पुस्ताका लागि सत्कार्य गरेर ब्रम्हाणका सन्ततिले पुण्य कमाएको भन्दै लघुकथाको क्षेत्रमा समाजले खेलेको भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रमको अन्त्यमा सर्वनाम थियटरका कलाकारहरूले सम्मानित स्रष्टा अल्पविराम पोखरेलीका दुई लघुकथा ’आमाको मन’ र ‘नौली बुहारी’ मञ्चन गरेका थिए । सभाध्यक्ष कोइरालाले समाजको विगत र आगत कार्यक्रमबारे प्रकाश पार्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा साहित्यकार, पत्रकार, ब्राह्मणसन्तति र कलाकारहरूको उल्लेख्य उपस्थिति थियो ।