मुक्तक
कुरुक्षेत्रको युद्धको चौधौँ दिन युद्धमैदान निकै आक्रामक थियो । हरेक योद्धा आगो ओकल्दै थिए । ठूलाठूला वीरहरू मारिएर रगतको आहाल बनेको थियो । विजयको अहंकार बोकेर दुर्योधन हरेक दिन सेनापति बनाउँथे, त्यही दिन तिलाञ्जली दिन्थे। कौरव सेना त्राहिमाम्-त्राहिमाम्मा थियो। पाण्डव पक्ष पनि परिणाममा ढुक्क नभए पनि पर्याप्त साहस बोकेर युद्धमैदानमा थियो।
सूर्य अस्ताउँदै थियो, तर युद्ध रोकिएको थिएन। जयद्रथवधपछि अर्जुनको प्रतिज्ञा पूरा भएको थियो। रणभूमि मशाल, रथका ध्वजा र अस्त्रहरूको ज्वालाले उज्यालो थियो, कर्कश थियो। योजनाबद्ध रूपमा युद्धमैदानमा घटोत्कचको प्रवेश हुन्छ। कौरव सेनामा भय फैलिएको थियो। त्यही बेला आकाशबाट एउटा भीषण गर्जना सुनियो।
“हा… हा… हा…!”
राक्षसपुत्र घटोत्कच रणभूमिमा अवतरित भयो। उसको विशाल शरीरले मानौँ आकाश ढाक्यो । स्वयं काल आएजस्तो प्रतीत हुन्थ्यो। कहिले पर्वतजस्तो ठूलो हुन्थ्यो, कहिले सानो भएर शत्रुका रथबीच पस्दथ्यो। उसका मायावी अस्त्रले कौरव सेनामा आतंक मच्चायो। रथहरू उल्टिन थाले। हात्तीहरू भाग्न थाले। सैनिकहरू दिशाहीन भए। दुर्योधनले भयभीत हुँदै वरिपरि हेरे । प्रतिरक्षा र प्रतिकारको योजना मनमा खेलाउँदै, संशय राखेर भन्यो, “यो के भइरहेको छरु हाम्रो सम्पूर्ण सेना एउटा राक्षसको मायाले काँपिरहेको छ !”
दुःशासन चिच्यायो, “महाराज१ यदि घटोत्कचलाई अहिले रोकिएन भने हाम्रो सेना बाँकी रहने छैन ।”
त्यही बेला शकुनि आफ्नो रथ नजिक ल्याउँदै मुस्कुरायो, तर उसको अनुहारमा पनि चिन्ता स्पष्ट थियो ।
“राजन्, यो साधारण योद्धा होइन। अहिलेको समय राक्षसहरूको शक्ति हो। दिन ढल्दै जाँदा घटोत्कच त्यति नै भयानक हुन्छ ।”
दुर्योधनले टाढा हेरे। घटोत्कचले फेरि एउटा विशाल शिला उठाएर कौरव सैनिकहरूमाथि फ्याँक्यो ।
दुर्योधनले सोधे, “सेनापति कर्ण कहाँ छन्रु”
शकुनिले भन्यो, “अङ्गराज कर्ण युद्धमै छन् ।”
दुर्योधनको आँखामा आशाको किरण आयो। प्रतिकार र प्रतिरक्षाको योजना बनाउँदै उसले भन्यो, “सेनापतिलाई बोलाऊ। आज मेरो सेना बचाउने सामर्थ्य कर्णबाहेक अरू कसैसँग छैन।”
घटोत्कच र दुर्योधनको सामना हुँदै थियो। केही क्षणपछि घटोत्कच स्वयं दुर्योधनको रथअगाडि आइपुग्यो ।
उसले गर्जेर भन्यो, “हे कुरुराज ! अझै पनि युद्ध गर्ने इच्छा छ ?”
दुर्योधनले धनुष उठाउँदै भन्यो, “राक्षसपुत्र१ तिमीले मेरो सेनामा जति आतंक मच्चाए पनि म हस्तिनापुरको राजा हुँ । तिम्रो अगाडि झुक्ने छैन ।”
घटोत्कच हाँस्दै भन्यो, “राजा ? राजा त्यो हो, जसले आफ्ना सैनिकलाई मृत्युको मुखमा धकेलेर आफू पछाडि लुक्दैन। आज तिम्रो सेनाको अवस्था हेर ?”
दुर्योधन क्रोधित भयो । “दुष्ट ! तिमी पाण्डवहरूको पक्ष लिएर मलाई उपदेश दिन्छौ ?”
घटोत्कचले भन्यो, “म पाण्डवहरूको पक्षमा मात्र छैन । म आफ्नो पिताको पक्षमा छु। म अधर्मको विरुद्ध उभिएको छु। आज तिम्रो अहंकारको अन्त्य हुनेछ !”
उसले एउटा भयानक अस्त्र प्रहार गर्यो। दुर्योधनको रथ डगमगायो । दुःशासन दौडेर आयो । प्रतिरक्षा गर्दै दाजुलाई सम्हालिन अनुरोध गर्दै उसले भन्यो, “महाराज ! म लड्छु !”
दुर्योधनले दाँत किट्दै भन्यो, “म भाग्दिनँ !”
तर त्यतिबेलासम्म कर्णको रथ रणभूमिमा आइपुगिसकेको थियो । घटोत्कच र कर्ण आमनेसामने भए ।
कर्णले आफ्नो विशाल धनुष ताने ।
घटोत्कचले उनलाई हेरेर भने, “अङ्गराज कर्ण ! अन्ततः आयौ ?”
कर्णले भने, “घटोत्कच, आज तिम्रो माया धेरै शक्तिशाली भएको छ । तर कर्ण युद्धभूमिबाट कहिल्यै पछि हट्दैन ।”
घटोत्कचले भन्यो, “मलाई थाहा छ, कर्ण । तपाईं महान् योद्धा हुनुहुन्छ । तपाईंसँग दिव्य अस्त्र पनि छन् । तर आज म तिमीलाई मार्न आएको होइन।”
कर्ण केही क्षण मौन भयो । “त्यसो भए ?”
घटोत्कचले गर्जेर भन्यो, “आज म तिमीलाई विवश बनाउन आएको हुँ !”
अचानक घटोत्कचले आफ्नो आकार आकाशजत्रो बनायो । उसको हातमा पहाडजत्रा शिला देखियो ।
कर्णले बाणहरूको वर्षा गर्यो । घटोत्कचको शरीरबाट रगत बग्यो, तर ऊ झन् उग्र भयो ।
घटोत्कचले भन्यो, “कर्ण ! तपाईंले प्रहार गरेका बाणले मेरो शरीर छेड्न सक्छन्, मेरो संकल्प होइन !”
कर्णले जवाफ दियो, “तिम्रो मायाले मेरो धैर्य तोड्न सक्दैन !”
घटोत्कचको मायावी युद्ध बढ्दै गयो । कौरव सेनामा भगदड मच्चियो ।
दुर्योधन फेरि कर्णको नजिक पुग्यो ।
“कर्ण ! अब विलम्ब नगरौँ। तपाईंसँग भएको अमोघ शक्ति प्रयोग गरौँ !”
कर्ण चुप रहे ।
कर्णले भने, “राजन्… त्यो अस्त्र मैले अर्जुनका लागि राखेको छु ।”
दुर्योधन स्तब्ध भयो। “अर्जुनका लागिरु”
कर्णले भने, “हो। इन्द्रबाट प्राप्त अमोघ शक्ति एकपटक प्रयोग गरेपछि त्यो अस्त्र फेरि मेरो हातमा फर्कने छैन ।”
शकुनि अगाडि आयो । “अङ्गराज, युद्धमा भविष्यको विजयका लागि वर्तमानलाई बलिदान गर्नुपर्छ । तर यहाँ त वर्तमान नै समाप्त हुन लागेको छ।”
कर्णले कठोर स्वरमा भन्यो, “मलाई मेरो अस्त्रको मूल्य थाहा छ, मामाश्री ।”
दुःशासन चिच्यायो, “मूल्यरु हाम्रो अनि हाम्रा हजारौँ सैनिकहरूको जीवनभन्दा ठूलो मूल्य के हुन सक्छ ?”
दुर्योधनले कर्णको हात समात्यो। “मित्र ! आज तिमीले मलाई बचाउनुपर्छ । तिमीले मलाई वचन दिएका छौ । तिमी मेरो साथ छोड्ने छैनौ।”
कर्णको अनुहार गम्भीर भयो ।
“मित्र… तिम्रो लागि म आफ्नो जीवन दिन सक्छु । तर यो अस्त्र … यो अर्जुनका लागि थियो ।”
शकुनिले बिस्तारै भन्यो, “यदि आज दुर्योधन जीवित रहेन भने भोलि अर्जुनसँग लड्ने अवसर नै कहाँ रहन्छ ?”
कर्णले शकुनितिर हेर्यो । त्यो तर्कले उसको हृदय छेड्यो । उता घटोत्कचले कौरव सेनामाथि पुनः प्रहार गर्यो ।
दुर्योधनको रथ चकनाचुर भयो । दुःशासन घाइते भएर ढल्यो ।
घटोत्कच गर्जियो, “अङ्गराज ! अब निर्णय गरौँ ! सेनालाई बचाउने कि आफ्नो अस्त्र जोगाउने ?”
कर्णले आँखा बन्द गर्यो । एक क्षणका लागि उसको मनमा अर्जुनको अनुहार आयो। उसले बिस्तारै धनुष तल झार्यो ।
“घटोत्कच… तिमी महान् योद्धा हौ । आज तिमीले मलाई यस्तो निर्णय गर्न बाध्य बनायौ, जुन म गर्न चाहन्नथेँ ।”
घटोत्कचले मुस्कुराउँदै भन्यो, “त्यसो भए, अङ्गराज, हेरौँ अमोघ शक्ति ठूलो कि मेरो मायाशक्ति !”
कर्णले आकाशतिर हेरेर मन्त्र उच्चारण गर्यो। उसको हातमा दिव्य शक्ति प्रकट भयो। रणभूमि केही क्षणका लागि मौन भयो । दुर्योधनले राहतको सास फेर्यो।
शकुनिको आँखामा विजयको चमक आयो ।
दुःशासनले चिच्यायो, “प्रहार गर्नुहोस्, कर्ण !”
कर्णले अन्तिमपटक घटोत्कचतिर हेरे । “वीर घटोत्कच, तिमीलाई प्रणाम ।”
अमोघ शक्ति बिजुलीझैँ आकाश चिर्दै घटोत्कचतर्फ गयो ।
घटोत्कचले त्यसको तेज देखेर बुझ्यो- यो साधारण अस्त्र होइन ।
उसले मुस्कुराउँदै भन्यो, “अन्ततः… यही चाहिएको थियो !”
अस्त्रले घटोत्कचको वक्षस्थल भेद्यो । विशाल राक्षसपुत्र आकाशमा डगमगायो । अन्तिम क्षणमा उसले आफ्नो शरीर झन् विशाल बनायो ।
घटोत्कचले भन्यो, “यदि म मर्नैपर्छ भने… कौरव सेनाको बीचमा मर्नेछु !”
घटोत्कचको स्वरमा बासुदेवको स्मरण थियो ।
“ॐकृष्णायवासुदेवायहरयेपरमात्मने।
प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः॥” !
उसको विशाल शरीर पहाडझैँ तल खस्यो । हजारौँ कौरव सैनिकहरू त्यसको मुनि परे । रणभूमि फेरि कम्पायमान भयो ।
कर्ण मौन थियो । उसले आफ्नो हात हेर्यो । अमोघ शक्ति अब उसको हातमा थिएन । उसले बुझ्यो-अर्जुनसँगको भविष्यको युद्ध अब अर्कै भएको छ ।
दुर्योधन भने हर्षले चिच्यायो, “अङ्गराज ! हामीलाई बचायौ !”
कर्णले कुनै उत्तर दिएन । उसको दृष्टि घटोत्कचको मृत शरीरमा थियो ।
त्यही बेला टाढाबाट कृष्णको हर्षपूर्ण आवाज सुनियो । अर्जुनले आश्चर्य मान्दै कृष्णलाई हेरे ।
“माधव ! घटोत्कच मारियो, अनि तपाईं प्रसन्न हुनुहुन्छ ?”
कृष्णले गम्भीर मुस्कानका साथ भने, “पार्थ, आज घटोत्कचले आफ्नो जीवन दिएर तिम्रो जीवन बचाएको छ । कर्णसँग रहेको इन्द्रप्रदत्त अमोघ शक्ति आज नष्ट भयो । अब त्यो शक्ति तिम्रो विरुद्ध प्रयोग हुन सक्दैन ।”
अर्जुन मौन भयो ।
कृष्णले रणभूमितिर हेरे । “घटोत्कच केवल भीमको पुत्र थिएन । आज ऊ पाण्डव सेनाको रक्षक बनेर प्राण अर्पण गरेर गयो ।”
उता कौरव पक्षमा विजयको नगारा बजिरहेको थियो ।
तर कर्ण मौन थियो । उसलाई थाहा थियो- आज उसले घटोत्कचलाई मारेको थियो, तर त्यसैसँगै अर्जुनलाई मार्ने आफ्नो सबैभन्दा ठूलो अवसर पनि गुमाएको थियो ।
बासुदेव कृष्ण र पाण्डवहरू घटोत्कचको नजिक पुगे ।
कृष्णले भने, “घटोत्कच ! तिमी धन्य हौ। तिम्रो वीरताको युगयुगमा सम्मान हुनेछ । आउने युगमा पुजनीय बन्नेछौ ।”
भीम आफ्ना पुत्रनजिक पुग्दै श्रद्धाका अश्रु झार्दै भक्कानिएर भने, “पुत्र ! मानवीय चोला त्यागेर दिव्य देह प्राप्त गर्यौ ।”
पाण्डवहरूले तिलाञ्जली दिन लागे । त्यससँगै युधिष्ठिरले भने, “पुत्र ! मानव देहबाट मोक्ष पायौ, दिव्य देह पायौ । हामीलाई युगौँयुग नबिर्सने गुन लगाएर गयौ । कर्तव्य पनि हो पुत्रको-निर्वाह गर्यौ।”
बासुदेव कृष्ण र घटोत्कचबीच दिव्य संवाद भयो । घटोत्कचले शिवलोक प्राप्त गरी शिवका पार्षद बन्ने वरदान पाए ।
शरीर देवनदीको तटमा पुर्याई सबैले श्रद्धाञ्जली अर्पण गरे ।
कैलासकुमार पाण्डेय
परशुरा–३, थपला