वसन्तवेला
समकालीन नेपाली साहित्यमा मुक्तक छोटो अभिव्यक्तिमा ठूलो भार बोक्ने विधाका रूपमा चिनिन्छ । निरन्तर रूपमा परिवर्तनशील समाजको ठुलो हिस्सा लामा आख्यान र काव्यमा रमाउन छोडेको छ। यस किसिमको अवस्थामा मुक्तकको महत्त्व अझ बढेको महसुस हुन्छ। तिखो व्यङ्ग्य, गहिरो चिन्तन र सामाजिक यथार्थपरक सारसङ्क्षेपको भाव बोक्ने काव्यको लघुत्तम रूप नै मुक्तक हो । अग्नि पुराणले आफैमा पूर्ण संरचनायुक्त एक श्लोक भएको काव्यको लघुत्तम रूपलाई नै मुक्तक मानेको छ। एक श्लोकमा रचना भएका पूर्ण भावयुक्त सम्पूर्ण कविताका संरचनाहरू सबै मुक्तक भएता पनि हाल लेखन र वाचनका दृष्टिले सुन्दर चतुष्पदी संरचनाको रूवाई शैली ( ए ए बि ए ) का मुक्तकहरू प्रचलनमा रहेका छन् ।
२०७३ सालमा पहिलो मुक्तक सङ्ग्रह ‘शिरमाथि शिरफूल’ प्रकाशित गरेर चर्चा कमाई सकेका लीलाधर पाण्डेय ‘प्रतीक’ को दोस्रो मुक्तक सङ्ग्रह ‘आँखाको नानी’ रूवाई शैलिकै परम्परालाई निरन्तरता दिँदै लेखिएको कृति हो। यो दोस्रो कृति उनको मुक्तक यात्रामा परिपक्वताको गर्वीलो प्रमाण हो । मुक्तक विधाका शल्यचिकित्सक डा. मुरारि पराजुलीको विश्लेषणात्मक भूमिका र वरिष्ठ साहित्यकार वनमाली निराकारको यस सङ्ग्रह प्रति देखाएको विश्वस्त दृष्टिकोणले पनि सङ्ग्रहलाई शास्त्रीय स्वीकृति दिएको छ। विषयगत विविधता समेटिएको यस मुक्तक सङ्ग्रहका मुक्तकलाई मूलत: तीनवटा वर्गमा विभाजन गर्न सकिन्छ ।
पहिलो : राजनैतिक अराजकता र यसप्रतिको खबरदारी
दोस्रो : प्रणय, शृङ्गार र यसका आयाम
तेस्रो : मानवीय प्रवृत्ति
यस मुक्तक सङ्ग्रहको सबैभन्दा शसक्त पक्ष नै समसामयिक राजनीति प्रतिको व्यङ्ग्य हो । भ्रष्टाचार, स्वार्थ, सत्ता लिप्सा र जनताप्रतिको बेवास्तालाई मुक्तककारले फरक बिम्बहरू मार्फत चोटिलो प्रहार गरेका छन्। कहिले लोकोक्तिमूलक तुलनाबाट त कहिले नारद, सकुनी र युधिष्ठिर जस्ता पौराणिक मिथक को माध्यमबाट समकालीन राजनीतिलाई पौराणिक सन्दर्भसंग जोडेर व्यङ्ग्यमा रूपान्तरण गरेका छन् । यसरी पौराणिक पात्रहरुलाई समसामयिक परिस्थितिमा ढाल्नु कविको भाषिक चातुर्यको राम्रो प्रमाण मान्न सकिन्छ ।
न त दुर्योधन हामीलाई न त दुःशासन चाहिएको हो
हदै भयो अराजकता थोरै अनुशासन चाहिएको हो
जनमतको दुरूपयोग गर्ने भ्रष्ट नेता होइन हामीलाई
जनताको भलो गर्ने विधि र सुशासन चाहिएको हो ।
दुर्जनको मन कालो हुनु के नै अनौठो भो ?
च्यातिएको लुगामा टालो हुनु के नै अनौठो भो ?
एउटा भ्रष्टाचारी अर्को भ्रष्टको संरक्षण गर्छ
दूधको साक्षी बिरालो हुनु के नै अनौठो भो ??
कार्यकर्ताको दास मनोवृत्तिले गर्दा नै शासकहरु अराजक भ्रष्ट र असहिष्णु बनेकोले पनि कवि सत्तापक्ष मात्र होइन जनताकै लाचारी पन र बेइमानीमाथि पनि उत्तिकै निर्मम देखिन्छन् । कविले उत्तरदायित्व केवल शासकमा मात्र होइन, नागरिकमा पनि उत्तिकै रहेको कुरा दर्शाएका छन् । जसले गर्दा यस सङ्ग्रहलाई एकोहोरो सत्ता-विरोधी आक्रोशभन्दा पनि माथि उठेर सन्तुलित सामाजिक चिन्तनको समुच्चय मान्न सकिन्छ ।
स्वयम् जिउँदो लास हुन रुचाएर हो
चाकरी गर्दै खास हुन रुचाएर हो
हाम्रा नेता भ्रष्ट हुनुको मूल कारण
कार्यकर्ताहरू दास हुन रूचाएर हो !!
एकाबिहानै दैलोमा धाउनेहरूको कमी छैन
मनभित्र तिनैलाई सजाउनेहरूको कमी छैन
नेता भ्रष्ट भए भनेर कति मात्र चिन्ता लिनु
जहिले तिनकै गुणगान गाउनेहरूको कमी छैन ॥
राजनीतिक व्यङ्ग्यको धारसँगै सङ्ग्रहमा प्रेम र अनुरागका कोमल स्वरहरू पनि उत्तिकै सशक्त रूपमा उपस्थित छन् । ‘जसरी पथिक बिनाको डहर बिरानो लाग्छ, त्यसरी नै पानी बिनाको नहर बिरानो लाग्छ… कसम ! तिमीबिनाको हरेक प्रहर बिरानो लाग्छ’ जस्ता पङ्क्तिमा विरहको सरल तर मार्मिक अभिव्यक्ति पाइन्छ। यसैगरी ‘धेरै भयो हाम्रो माया हरियो दूबो भैं मौलाएको, आउ स्वयंवर गरौँ! हाम्रो पिरती अजम्बरी हुनेछ’ जस्ता पङ्क्तिको प्रयोग मुक्तकमा हुनुले शृङ्गार थपेको छ । यसैगरी कविले अन्तरजातीय प्रेमलाई समाजले सहर्ष नलिने परिपाटी रहेकोमा यसको बिरोध गर्दै यस किसिमका विवाहलाई सामाजिक आदर्शको रूपमा स्वीकार्न आग्रह गर्छन् जुन परम्परागत श्रृङ्गारिक मुक्तकमा हुनेभन्दा फरक एवम् उत्तरदायी दृष्टिकोण हो ।
म कसरी भन्न सक्छु यो अवसर घरीघरी हुनेछ
मनले खामेको मान्छे जीवनभर वरिपरि हुनेछ
धेरै भयो हाम्रो माया हरियो दूबो झै मौलाएको
आउ स्वयंवर गरौं ! हाम्रो पिरती अजम्बरी हुनेछ ।
सिङ्गो समुदाय नै मजबुर कसरी हुनसक्छ ?
विवेकशील मान्छे रिसले चुर कसरी हुनसक्छ ?
राजीखुशी झाँगिँदै गएको अन्तरजातीय प्रेममा
म अपराधी अनि ऊ बेकसुर कसरी हुनसक्छ ?
यसबाहेक कविले मानवीय प्रवृत्ति र सम्बन्धका सूक्ष्म पाटालाई पनि केलाएका छन् । कमजोरलाई बलवान् मान्दिनुपर्ने, राक्षसलाई भगवान् मान्दिनुपर्ने भन्ने प्रतीकात्मक अभिव्यक्तिदेखि, अंशवण्डाकै कारण छोराले बाउको ज्यान लिने विडम्बनासम्मका विषय यस सङ्ग्रहमा प्रवेश पाएका छन्, जसले समकालीन पारिवारिक विघटन, देखावटी संस्कृति र भौतिकवादी समाजप्रति कविको सजग दृष्टिलाई पुष्टि गर्छ ।
जो कमजोर छ उसैलाई बलवान् भनिदिनुपर्ने
जो राक्षस छ उसैलाई भगवान् भनिदिनुपर्ने
यो मुहार-पुस्तिका देख्यो कि झोक उठ्छ
अचेल जो बुढो छ नि उसैलाई जवान भनिदिनुपर्ने ।
अग्लो महल देखाउँछ कहिले नोट देखाउँछ
विचारविहीन छ लगाएको कोट देखाउँछ
जसले जीवनभर सम्झनलायक केही गरेन
उही यहाँ बारम्बार अरूको खोट देखाउँछ ।
कविले धेरैजसो मुक्तकमा ‘के नै अनौठो भो ?’ वा ‘मनपर्दैन’ जस्ता पङ्क्तिको प्रयोगले मुक्तकलाई गीतात्मक तीव्रता प्रदान त गर्छ, यद्यपि निरन्तर दोहोरिँदा कतिपय ठाउँमा काव्यिक सौन्दर्यमा कमील्याएको अनुभूति हुन्छ । आउँदा दिनमा कविले मुक्तकलाई विषयगत रुपमा वर्गीकरण गर्ने र दोहोरिने पङ्क्ति ढाँचाभन्दा बाहिर निस्केर नयाँ लयात्मक प्रयोगहरू गर्न सकेमा उनको मुक्तक-यात्रा अझ फराकिलो हुनेछ भन्नेमा कुनै दुई मत छैन । समग्रमा भाषा सरल, बोलचालको नजिक र सर्वसाधारण पाठकसम्म सजिलै पुग्ने खालको छ । भावको गहिराइ सम्म पुग्ने र बिजुलीको चम्काई झैँ चेतनाको झिल्को बाल्ने कविको शैलीले मुक्तकलाई मर्मस्पर्शी बनाएको छ ।
सबथोक हो मेरो मायाको खानी हो भनिदिनु
मेरो मनले रोजेको हृदयको रानी हो भनिदिनु
कसैले प्रश्न गरे भने हाम्रो सम्बन्धको बारेमा
संसार नियाल्ने आँखाको नानी हो भनिदिनु ॥
सामाजिक-राजनीतिक चेतना बोकेको, सरल र सशक्त भाषामा लेखिएको संसार नियाल्ने मुक्तक सङ्ग्रह हो ‘आँखाको नानी’ । समकालीन पाठकका लागि यो सङ्ग्रह उपयोगी , सान्दर्भिक र सङ्ग्रहणीय छ। यो कृति सबै पाठकका लागि संसार नियाल्ने आँखाको नानी बन्न सफल रहोस्। निकट भविष्यमा अझ अर्को सशक्त कृतिको अपेक्षा सहित कवि लीलाधर पाण्डेय ‘प्रतिक’ लाई सृजनशील भविष्यको हार्दिक शुभकामना ।
पुस्तक : आँखाको नानी (मुक्तक सङ्ग्रह)
लेखक : लीलाधर पाण्डेय ‘प्रतीक’
प्रकाशक : तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठान, रूपन्देही
प्रकाशन मिति : २०८२ जेष्ठ
मुक्तक सङ्ख्या : १४४
मूल्य : रू. ३०५।–
