संस्मरण
काठमाडौँ ।
कवि मणिराज सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’को लोकार्पण गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले सो पुस्तकको लोकार्पण गरेका हुन् । साहित्यकार दिवसले कवि सिंह विचारको अग्निशिखा बोकेर हिँड्ने सचेत कवि भएको बताउँदै कवितालाई कोठाको विलासिताबाट निकालेर सडकको यथार्थ र जनजीवनको धड्कनसम्म पु¥याउनुपर्ने धारणा राखे ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. विष्णुविभु घिमिरेले सिंहका कविता बौद्धिक र नयाँ पुस्ता प्रेरित गर्ने खालको भएको बताए । प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. तुलसीप्रसाद भट्टराईले कृतिकार सिंह साहित्यिक सिर्जना, संस्थागत नेतृत्व र नयाँ स्रष्टालाई मार्गदर्शन गर्ने कार्यमा निरन्तर सक्रिय रहेको बताए ।
पुस्तकमाथि समीक्षा गर्दै प्राडा भरतकुमार भट्टराई र डा. रमेश शुभेच्छुले विम्ब, प्रतीक र अलङरका दृष्टिले कृति सशक्त रहेको टिप्पणी गरे । कार्यक्रममा स्रष्टाहरू उषा शेरचन, सुनिता अधिकारी, योगाज राजन कविराज, रचिता दाहाल, कल्पना मरासिनी र बुद्धिमान महर्जनले ‘लोकतन्त्रको अस्मिता’बाट कविता वाचेका थिए । उक्त अवसरमा ‘नेपाली सरोकार’ मासिककी प्रकाशक/सम्पादक रमा वली र ‘गृष्मा ग्राफिक प्रेस’ का अध्यक्ष घननारायण श्रेष्ठलाई सम्मान अर्पिएको थियो ।
