• २०८३ श्रावण १०, आईतवार

छिन्नलता सम्मान तथा पुरस्कार प्रदान

काठमाडौं ।

छिन्नलता गीत पुरस्कार गुठीले गीतकार छिन्नलताको १०४औँ जन्मजयन्तीको अवसर पारेर पाँच सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘छिन्नलता गीत विशेष सम्मान, २०८२’ प्रदान गरे । सम्मानका साथ नगद राशि एक लाख रुपैयाँ समेत प्रदान गरियो । यस्तै, ‘छिन्नलता गीत पुरस्कार, २०८२’ गीततर्फ डा. नवराज लम्साललाई, संगीततर्फ किरण कँडेललाई र गायनतर्फ गायिका विमला राईलाई प्रदान गरियो । यी तीनै पुरस्कारका साथ नगद राशि जनही एक÷एक लाख रुपैयाँ प्रदान गरियो ।

गुठीले ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार, २०८२’ गायिका सारिका घिमिरेलाई प्रदान ग¥यो । यो पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरियो । गुठीकी संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले सर्जकलाई नगद राशि प्रदान गरिन् । कार्यक्रममा सभामुख अर्यालले सम्मानित र पुरस्कृत सर्जकलाई बधाई दिँदै साहित्य, कला र संस्कृति नेपालीको भावना भएको उल्लेख गरे । उनले नेपाली गीतसंगीतका क्षेत्रमा गुठीले गुणस्तरीय योगदान दिएको भन्दै प्रशंसा गरे । गुठीका सचिव कवि गीतकार दिनेश अधिकारीले संस्थाले समर्पण गर्ने पुरस्कार एक किसिमले लोकप्रियता र दीर्घसेवाको सम्मान पनि भएको उल्लेख गरे ।

पुरस्कृत सर्जकका तर्फबाट कवि डा. लम्सालले पुरस्कारले आफूहरूमा ऊर्जा थपेको बताए । मान्छे गीतभन्दा पर हुनै नसक्ने उनले उल्लेख गरे ।उनले भने, “पठनका लागि तयार भएको गीतले जब संगीत पाउँछ, संगीत संयोजन पाउँछ, स्वर पाउँछ र रेकर्डिङ पाउँछ, तब न बजार व्यवस्थाको बाटो खुल्छ । व्यापारको कुरा त बजार पुगेपछिको हिसाबकिताब हो, तर अचम्म त के छ भने गीतका व्यापारीहरू गीतकारको नामसम्म पनि चिन्दैनन् । यो बहसको अर्को पाटो हो ।”कार्यक्रममा विमला राई, किरण कँडेल र सारिका घिमिरेले गीत गाएर कार्यक्रमलाई संगीतमय बनाए । उक्त अवसरमा गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठी र गुठीका उत्तराधिकारी आदिदेव दत्त सिंहले पनि आफ्नो धारणा राखे ।