कहानी-हिन्दी
सधैँ देखिने दृश्यलाई
सामान्य ठान्ने हाम्रो बानीले नै
सायद
मानिसलाई
आज निराशाको दिशातिर डोर्याइरहेको छ ।
किनकि
नियमित देखिने दृश्यलाई
यदि अन्तरमनले हेर्न सक्यौँ भने,
त्यहाँ दृश्य मात्र होइन,
एउटा दृष्टिकोण जन्मिन्छ।
त्यही दृष्टिकोणले
मानव चेतनालाई पूर्ण बनाउँछ ।
आज बिहानको अध्यापन सकेर
दिउँसोका अन्य काम थाती राखी
घरमै बसिरहेको थिएँ।
अपराह्न करिब तीन बजेतिर
एउटा परेवा मेरो नजिक आयो,
केही बेरमै
आफ्नो साथीलाई पनि बोलायो ।
मैले केही चारो छरिदिएँ,
र उनीहरूलाई हेर्दै
सोच्न र सम्झिन थालेँ ।
कौसीमै भान्सा हुनुको आनन्द नै बेग्लै हुन्छ ।
भित्र खानाको तयारी,
बाहिर घाम, पानी र कुहिरो,
काठमाडौं वरिपरिका वर्षाले धुलेका डाँडाहरू
एकछिनलाई आफ्नै गाउँ सम्झाउने दृश्य ।
तर
ती दृश्य हेर्न पनि
समय निकाल्नुपर्ने रहेछ
घरको काम जस नपाइने,
नदेखिने,
तर कहिल्यै नसकिने
आमा र हजुरआमाले भनेको कुरा
आज आफैँले बाँचिरहेको छु।
सानै उमेरदेखि
भोलिको जिम्मेवारी बोकेको काँध
आजसम्म हलुका हुन सकेन ।
बरु
दिनप्रतिदिन झन् भारी हुँदै गयो ।
अग्रजहरू अशक्त हुँदै गए,
श्रीमान्को थकानमाझ
आफ्नो थकाइ राख्ने ठाउँ रहेन।
नयाँ पुस्ता आफ्नै संसारमा व्यस्त भयो ।
त्यसपछि सिकेँ
गुनासोभन्दा कर्ममा केन्द्रित हुन
आफ्नो लागि निकालिएको
एउटा सानो क्षण,
एउटा कप चिया,
वा तिर्खा मेटाउने एक गिलास पानी
यिनै मेरा हितैषी साथी बने ।
यही हो शायद
मानव जीवन
कर्मशील हुनु,
देखिनु
र वास्तवमै हुनु
यी तीनवटाबीच
कति ठूलो अन्तर रहेछ !
तर आजको प्रसङ्ग
परेवाको हो।
विगत पन्ध्र वर्षदेखि
छिमेकी घरको एउटा सानो झ्यालमाथि
एउटा जोडी परेवाले
नियमित गुँड बनाउँदै आएको थियो ।
त्यसबाट झर्ने फोहोरले
घरबेटी दिक्क भइसकेका थिए ।
एक दिन बेलुका
अफिसबाट फर्कँदा
खैलाबैला थियो ।
हेरेँ
जहाँ परेवाको सानो गुँड थियो,
त्यहाँ आधुनिक प्रविधियुक्त
चिप्लो स्लोप जडान गरिएको रहेछ ।
मन अलिक चिसियो ।
तर आफ्नो कामतिर लागेँ ।
साँझ पर्नासाथ
त्यो जोडी परेवा
आफ्नै गुँड वरिपरि
बारम्बार घुम्न थाल्यो ।
मानौँ
आज उनीहरूको सम्पूर्ण संसार
रित्तिएको थियो ।
मैले सोचेजस्तो
उनीहरू सजिलै अर्को ठाउँ गएनन् ।
उनीहरू चिच्याएनन्,
तर
त्यो चिप्लो सतहमा
दायाँबायाँ गर्दै
टेक्न खोजिरहेका उनका पाइलाहरू
आफैँ कराइरहेका थिए
त्यो दृश्यले
मेरो मन रन्थनियो ।
भगवानले
मानिसलाई
धरतीमुनि खन्ने
र आकाशसम्म फैलिने सामर्थ्य त दिए,
तर
विवेक भने
दिनप्रतिदिन क्षीण हुँदै गएको जस्तो लाग्यो ।
चारतले घर बनाएर
आफ्नो जीवनलाई सुरक्षित राख्ने मानिस,
जसको भान्सा, शयनकक्ष र स्नानघर छन्,
त्यसले प्रयोग नगरेको
भित्ताको एउटा सानो कुनासमेत
आज त्यो चराले पाउन सकेन ।
दिनभरि
मुस्किलले एक मुठी अन्न खोजेर
जीवन धान्ने
त्यो निर्दोष जीवका लागि
त्यति ठाउँ पनि धेरै भयो ।
विकासको शिखर चुम्दै जाँदा
मानव हृदय
प्रकृतिप्रति
झन् कठोर बन्दै गएको छ ।
सायद
उनीहरू अहिले पनि
कानेखुसी गरिरहेका होलान्
“अब हाम्रो गुँड कहाँ बनाउने ?”
हिजो बचेरा हुर्काएको
त्यही पुरानो गुँड,
जहाँ बिरालोबाट जोगिनुपर्थ्यो,
आज
बिरालोभन्दा शक्तिशाली
मानिसले नै
उनीहरूको संसार उजाडिदियो ।
उनीहरूको मौन क्रन्दन
यो सृष्टिले सुन्छ कि सुन्दैन,
मलाई थाहा छैन ।
तर
त्यो दृश्यले भने
मलाई
मानव भएकोमा
आफैँप्रति लज्जा
र गहिरो टिठ जगाइदियो ।
आज
मानिसले
धरतीमुनिदेखि आकाशसम्म
सबै आफ्नो बनाइसकेको छ ।
तर
निष्कपट, इमानदार,
मेहनती र शान्त
प्रकृतिका सुन्दर प्रतिनिधि
एउटा परेवाको जोडीका लागि
मानिसको पाइला मात्र अट्ने
एउटा सानो कुनासमेत बाँकी रहेन ।
हे प्रकृति !
विकासको नाममा
हामी संवेदनाशून्य नबनौँ ।
धर्ती, आकाश, अन्न, जल,
सूर्य र चन्द्रमाको अस्तित्वअघि
हाम्रो अस्तित्व त क्षणिक मात्र हो ।
हामीलाई जीवन दिने
प्रकृति र यसका शान्त प्राणीहरूका लागि
पिँजडा, चिडियाघर र अवरोध होइन,
मित्रवत् सहअस्तित्वको वातावरण
निर्माण गर्न सकौँ ।
जय प्रकृति !
जय सृष्टि !
सुशिला शर्मा “शिलु”