सूत्र-कविता
काठमाडौँ ।
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत शुरू गरिएको दशक–दशकका कथा वाचनको मासिक कार्यक्रमको अर्को शृङ्खला सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको एकतीसौँ शृङ्खलामा हिजो कथाकारद्वय गोविन्द गिरी प्रेरणा र माया ठकुरीले चालिसको दशकको कथा वाचन गरेका थिए । दिवङ्गत भइसकेका कथाकारको कथा वाचनबाट शुरू हुने कार्यक्रममा यसपटक कथाकार बालकृष्ण समको १९९२ को शारदा पत्रिकाको वर्ष १ अङ्क ६ मा प्रकाशित कथा ’पराई घर’वाचन गरिएको थियो । उक्त कथालाई कथाकार शैलेन्द्र साकारले वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा कथाकार गोविन्द गिरी प्रेरणाले ’निगार’ शीर्षकको कथा वाचन गरेर सुनाएका थिए । ’यात्राःअनन्त’कथासङ्ग्रहमा प्रकाशित उक्त कथा २०४४ मा मधुपर्कमा प्रकाशित भइसकेको कथा हो भने यात्राः अनन्त’ २०५५ सालमा साझा प्रकाशनद्वारा प्रकाशित कथासङ्ग्रह हो । त्यसैगरी, अर्का कथाकार माया ठकुरीले ’पचास वर्षपछि’ शीर्षकको कथा वाचन गरेर सुनाएकी थिइन्। २०४८ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित उक्त कथा ’माया ठकुरीका कथाहरू’ कथासङ्ग्रहमा रहेको छ । कथा वाचन गरेपश्चात् उठेका जिज्ञासामा कथाकार ठकुरीले कल्पनाभन्दा यथार्थमा आधारित पश्चिम रूकुमको कथा हो भनेर बताइन्। रूकुमकै प्रसङ्गमा उठेका जिज्ञासामा उनले त्यतिबेलाका त्यहाँका केही गीतहरू गाएर पनि सुनाएकी थिइन्। माया ठकुरीका कथाहरू पढेर सुभाषचन्द्र पौडेल ’भीमफेदीया’ले गरेको समीक्षा डेढ वर्षअघि शब्दपथ अनलाइनमा छापिएको प्रसङ्ग पनि उठेको थियो ।
कथा वाचनपछि श्रोताहरूबाट राखिएका जिज्ञासाका बारेमा कथाकारद्वयले आ–आफ्नो भनाइ राखेर स्पष्ट पारेका थिए। भनाइका क्रममा कथाकार प्रेरणाले एउटा लेखकले लेख्ने भनेको कुरा कि समय हो कि जीवन भनेर बताउँदै चालिस वर्षअघि लेखिएको कथा ’निगार’का बारेमा आफ्नो लेखन, अनुभव र भोगाइको कुरा बताएका थिए। भौगोलिक यात्राका क्रममा देखेका भोगेका यथार्थ कुरालाई कथामा उतारेको बताएका थिए । जिज्ञासा राख्नेहरूमा सविता श्रेष्ठ’बेहोसी’, रमेशजंग थापा, श्यामप्रसाद श्रेष्ठ, निर्मला ढुङ्गाना, शैलेन्द्र साकार, सुभाषचन्द्र पौडेल ’भीमफेदीया’ तथा हरिबोल आचार्य रहेका थिए ।
कार्यक्रममा परिकल्पनाकार कथाकार पुष्कर लोहनीले विदेशी साहित्य र परम्पराको चर्चा गर्दै नेपाली साहित्यमा पनि कथाकारहरूलाई एउटै मञ्चमा राखेर कथा वाचन गरे पश्चात् त्यसबारे टिप्पणी र जिज्ञासा राख्ने तथा कथाकारले जिज्ञासा मेटाउने परम्पराको थालनी गरेको बताए । मन्तव्य राख्ने क्रममा उनले शंकर लामिछाने, भवानी भिक्षु र विजय मल्लको स्मरण गरेका थिए । कार्यक्रमका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले आफ्नो स्वागत मन्तव्यमा कथाकारद्वय गिरी र ठकुरीको संक्षिप्त परिचय दिंदै कार्यक्रमको उद्देश्यमाथि संक्षेपमा प्रकाश पारेका थिए । हालसम्म कार्यक्रममा बीसका दशकदेखि सत्तरीका दशकसम्मका कथाहरू वाचन भइसकेको र दशको दशकका कथाहरू उपलब्ध हुन नसकेको बताए । पुराना तथा नयाँ पुस्ता बीच कथाका माध्यमबाट पुनर्जागरण ल्याउन चाहेको उनको भनाइ थियो ।
