• २०८३ जेष्ठ ११, सोमबार

‘ताइवान ट्राभलग’ले जित्यो यस वर्षको इन्टरनेसनल बुकर पुरस्कार

काठमाडौँ ।

यस वर्षको इन्टरनेसनल बुकर पुरस्कार ‘ताइवान ट्राभलग’ ले जितेको छ । ताइवानी लेखक याङ शुआङ जीको उक्त उपन्यास मन्दारिन चिनियाँ भाषाबाट लिन किङले अंग्रेजीमा अनुवाद गरेकी हुन् । यस वर्षको इन्टरनेसनल बुकरको सर्टलिस्टमा ’ताइवान ट्राभलग’ सँगै ’सि हु रिमेन्स’, द ’डिरेक्टर’, ’अन अर्थ एज इट इज बिनिथ’ र ’द विच’ परेका थिए ।

पुरस्कार राशि ५० हजार पाउन्ड लेखक र अनुवादक दुवैले आधाआधा बाँड्नेछन् । उपन्यासको कथावस्तु सन् १९३० को दशकको ताइवानी पृष्ठभूमिमा आधारित छ । जुनबेला ताइवान जापानको उपनिवेश थियो । उपन्यासमा ’निषिद्ध प्रेम’ र ’ताइवानी व्यञ्जन’ प्रस्तुत गरिएको छ । उपन्यास एक पुरानो यात्रा संस्मरणका रूपमा रहेको बीबीसीले उल्लेख गरेको छ । जहाँ काल्पनिक फुटनोटसमेत समावेश छ ।

निर्णायक मञ्डलकी अध्यक्ष नतासा ब्राउन ‘ताइवान ट्राभलग’ प्रेमकथाका रूपमा सफल र सूक्ष्म रूपमा उत्तरऔपनिवेशिक चेत बोकेको उपन्यासका रूपमा पनि उत्तिकै प्रभावशाली रहेको बताउँछिन् । उनी भन्छिन्, ‘निर्णायकका रूपमा हामीले यस पुस्तकका अनेक तहबारे गहन छलफल ग¥यौँ। यो आकर्षक र चतुर ढंगले परिष्कृत उपन्यास हो ।’

उपन्यासको प्रमुख पात्र काल्पनिक जापानी लेखिका अओयामा चिजुको हुन्, जसलाई सरकारले ताइवान यात्रामा पठाउँछ । यात्राका क्रममा ताइवानी अनुवादक चिजुरुलाई उनी प्रेम गर्छिन् । उनीहरूकै दृष्टिकोणबाट उपन्यासमा प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र शक्ति देखाइएको छ। उपन्यास पहिलो पटक २०२० मा मन्दारिन चिनियाँ भाषामा प्रकाशित भएको थियो । यसअघि नै पुस्तकले थुप्रै अवार्ड जितिसकेको छ ।