• २०८३ बैशाख ५, शनिबार

आमा

द्वारिका कुइकेल

द्वारिका कुइकेल

आमा !
एक भ्रूणलाई कोखमै फुलाइ,
कुँदिँदै अंग–अंग सुन्दर बनाइ,
तयार पार्छिन् एक जीवलाई-
ब्रह्मा नै हुन् यी, यिनै यी नै हुन् सृष्टिदायि

त्यो एक मानव रूपी यन्त्रलाई,
फुक्छिन् प्राण, जप्दै मन्त्रलाई,
भोग्छिन् प्रसवका ती मृत्यु समान
पैदा गर्छिन् सन्तान ! जननी महान

भोगेर कैयौँ दुःखका पहाड,
जुटाउँछिन् ती शिशुलाई आहार,
पिएर पानी, बनाएर दूध,
पिलाउँछिन्  भोकै बस्छिन् खुब !

बोकेर सधैँ शिशु काखमा,
सीप र ज्ञान भर्छिन् कोपिलामा,
खिपेर पंख, गराउँछिन् उडान,
फर्केर ढल्छिन्  जोगी समान !

 


द्वारिका कुइकेल
गोंगबु, गणेशस्थान, काठमाडौं, नेपाल