• २०८३ बैशाख २, बुधबार

आज नयाँ वर्ष हो

राजेन्द्रप्रसाद अर्याल

राजेन्द्रप्रसाद अर्याल

बिर्सिदेऊ हिजोका
अनगिन्ती दुःखहरू
भोक, ताप र अशान्तिभित्र
रूमल्लिएका तिम्रा
विवसता अनि बाध्यताहरू
सबै पीर फुकालेर
किलामा झुण्ड्याऊ
दम्भको विष हृदयबाट निकाल
जिजीविषा तन्काउँदै
नवविज छर्न जाऊ
आज नयाँ वर्ष हो।

उमङ्ग र उत्साहको भेलसँगै
अविरल बहन सक्छौ तिमी
निराशाको साम्राज्यमा
शिलान्यास गर
आरोहण सगरमाथाको
पाल महत्त्वाकाङ्क्षा
बटुल साहस
निष्पट्ट अन्धकारमा पनि
भविष्य उज्ज्वल देख्ने सामथ्र्य राख
आज नयाँ वर्ष हो।

कोमल मनको मझेरीमा
कल्पनाको सागर ओढेर
सपनाको संसार सजाउ
संभावनाको प्रश्न होईन
मात्र प्राप्तिको आकाङ्क्षा राख
हुरीमा पनि दियो बाल्ने कोसिस गर
चन्द्रमा ताकेर हिँड
समस्याहरूमा अवसर देख
किनकि आज नयाँ वर्ष हो ।


–राजेन्द्रप्रसाद अर्याल
गोरखा बजार
हालः– म्याडिसन, अमेरिका