• २०८२ चैत्र २७, शुक्रबार

जनमतको ४२औं वार्षिकोत्सवकामा १० स्रष्टा सम्मानित

काठमाडौँ ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४२औँ वार्षिकोत्सवका अवसरमा १० विशिष्ट स्रष्टालाई सम्मान गरिएको छ । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित ‘दोस्रो चरणको स्रष्टा सम्मान कार्यक्रम’ मा अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारीलाई ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ अर्पिएको छ । नेपाली साहित्यको अनुवाद र प्रवद्र्धनमा पुयाएको विशिष्ट योगदानको कदर गर्दै उनलाई सो सम्मान अर्पिएको हो । डा. अधिकारीले ‘अनुवाद प्रज्ञा पुरस्कार– २०८१’ समेत प्राप्त गरेका थिए ।

औपचारिक कार्यक्रमको समापनपछि भएको एक अनौपचारिक कुराकानीका क्रममा डा. अधिकारीले वर्तमान समयमा अनुवादको बदलिँदो स्वरूप र प्रविधिको भूमिकाबारे चर्चा गरे । उनले भने, “आजको युगमा अनुवाद कार्यलाई अझ प्रभावकारी र स्तरीय बनाउन अनुवादकको व्यक्तिगत सिर्जनशीलता, मानवीय संवेदनशीलता र कृत्रिम बुद्धिमत्ता (एआई) को उचित संयोजन हुन आवश्यक छ ।” प्रविधिले अनुवादलाई सहज बनाए पनि मानवीय भावना र सिर्जनशीलता नै अनुवादको वास्तविक प्राण भएको उनको धारणा थियो ।

समारोहमा डा. अधिकारीका साथै अन्य ९ स्रष्टालाई पनि विभिन्न विधामा सम्मान अर्पिएको थियो । सम्मानित हुनेहरूमा वरिष्ठ राजनीतिज्ञ एवं लेखक मोहनविक्रम सिंह (कमलराज–जनमत दर्शन साहित्य सम्मान), प्राडा चूडामणि बन्धु (हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान) र प्राडा वीणा पौड्याल (जनमत–सिचि धर्म/संस्कृति सम्मान) छन् । त्यस्तै डा. कविता लामालाई ‘विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान’, नन्दकृष्ण जोशीलाई ‘जनमत–जनक प्रधान सेवा सम्मान’ र प्राडा सविना श्रेष्ठलाई ‘जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान’ अर्पण गरिएको छ ।

अन्य सम्मानित व्यक्तित्वहरूमा जगदीश ओझा (जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान), राजभाई प्रधान (जनमत–पूर्णमाया/लुचि समाजसेवा सम्मान) र डा. गोविन्द आचार्य (शान्तिकिरण–जनमत फरक क्षमता सम्मान) छन् । प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा भएको कार्यक्रममा देशभरका साहित्यकार, पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो । ४२ वर्षदेखि निरन्तर वाङ्मयको सेवामा समर्पित जनमत प्रतिष्ठानले नेपाली भाषा र साहित्यका विभिन्न विधाका साधकहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।