समाचार
काठमाडौं ।
गीत लेखनमा कलम चलाउँदै आएकी सर्जक देवी घिमिरेको पहिलो उपन्यास ‘मनझोली’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा. डा. हेमनाथ पौडेलले उपन्यास लोकार्पण गरेका हुन् । उनले घिमिरेले हराएर जाने जीवनका यावत् कथालाई उपन्यासका माध्यमबाट जीवन्त तुल्याएको बताए । जीवनका अनेक भोगाइ उपन्यासमा समेटिएको उनले उल्लेख गरे ।
उपन्यासकार तथा संगीतकर्मी सन्तोष श्रेष्ठले उपन्यासका क्षेत्रमा यो एउटा राम्रो कृति ल्याइएको टिप्पणी गरे । उनले यो उपन्यासमा ९० वर्षको समाज र तत्कालीन समयको इतिहास अभिव्यक्त भएको बताए । अर्का वक्ता निमग्ना घिमिरेले देवीको उपन्यासमा ९० वर्षअघिको नेपाली समाजको चित्रण गरिएको बताइन् । यसमा पात्रहरूको मनस्थिति सूक्ष्म रूपमा प्रस्तुत भएको उनले उल्लेख गरिन् ।
अर्का समीक्षक टीएन भट्टले परम्परागत धारमा लेखिए पनि उपन्यास पठनीय भएको उल्लेख गरे । उपन्यास समाजद्वारा आयोजित कार्यक्रममा कृतिकार घिमिरे, लीलादेवी पौडेल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रकाशक बन्धुराज शर्मा, शंकर भारती, प्रकाश तिवारीलगायत व्यक्तिले आफ्ना धारणा राखेका थिए ।
