• २०८२ फाल्गुन २९, शुक्रबार

माणिकबाबु ग्वंगःको ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरू’ कवितासङ्ग्रह विमोचित

भक्तपुर ।

नेपाली र नेपालभाषामा समान रूपमा काव्यलेखन गर्दै आउनुभएको कवि माणिकबाबु ग्वंगःको नयाँ कवितासङ्ग्रह ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरू’ भक्तपुरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।
कवि ग्वंगःको वैवाहिक जीवनको पचासौँ वर्षको अवसरमा आयोजित विशेष समारोहमा उक्त कृति सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तिलक प्रकाशले कृति लोकार्पण गर्दै कवि ग्वंगःका कविताहरू पठनीय र संवेदनशील रहेको बताउनुभयो ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै कथाकार ध्रुव मधिकर्मीले कविता विचारको अभिव्यक्ति मात्र नभई जीवनका भोगाइ र समसामयिक यथार्थलाई उजागर गर्ने माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले कृतिमा मानवीय अनुभूतिका शाश्वत पक्षहरू सरल र प्रभावकारी ढङ्गले प्रस्तुत भएकाले कविताहरू सम्प्रेषणीय बनेको बताउनुभयो । अर्का समीक्षक अगीव बनेपालीले कवितामा जीवनका विभिन्न समस्यासँगै समाधानका सम्भावनातर्फ पनि स्रष्टाले ध्यान दिएको टिप्पणी गर्नुभयो । स्रष्टा माणिकबाबु ग्वंगःले आफूले किशोर अवस्थादेखि कविता लेखन सुरु गरे पनि धेरैपछि मात्र कृति प्रकाशन गर्न सकेको बताउँदै लेखन यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

स्रष्टापुत्री रीनाबाबा ग्वंगःको उद्घोषणमा सम्पन्न कार्यक्रममा कवि सुदीप हाडाले स्रष्टा ग्वंगःको साहित्यिक योगदान र परिचय प्रस्तुत गर्नुभएको थियो । रोजीबाबा ग्वंगःले स्वागत मन्तव्य राख्नुभएको थियो भने सुवर्णकेशरी ग्वंगःले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा साहित्यिक संस्थाहरूका तर्फबाट उतमनारायण मल्ल, महेन्द्रगोपाल कर्माचार्य, राजुराम मुनंकर्मी र संजीव ग्वंगःलगायतले स्रष्टालाई सम्मान तथा शुभकामना व्यक्त गर्नुभएको थियो । सुवर्णकेशी मुनंकर्मी ग्वंगः प्रकाशक रहेको ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरू’ कवितासङ्ग्रहमा समसामयिक जीवनका विविध अनुभूतिमाथि लेखिएका ५० वटा कविताहरू समेटिएका छन् ।