• २०८२ चैत्र १७, मंगलवार

घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक

काठमाडौं ।

नियात्राकार पशुपति घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई, कवि प्रल्हाद पोखरेल, नियात्राकार राजेन्द्रमान डङ्गोल, विश्व साइकलयात्री तथा नियात्राकार पुष्कर शाह, समीक्षक राजकुमार बानिया, प्रकाशक पुष्पराज पौडेल, साहित्यकार कुमारी लामा, अनिता कोइराला तथा लेखक घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण होटल मार्कोपोलोमा गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले सिर्जना कहिल्यै पूर्ण नहुने यात्राजस्तै हुने उल्लेख गर्दै नियात्रासङ्ग्रहबारे चर्चा गर्नुभयो । “हाम्रा सिर्जना कहिल्यै पूर्ण नहुने चिज हुन्। यो सगरमाथा आरोहण गरेपछि पूर्ण भइजाने यात्रा होइन, बरु सर्जकले जीवनभर आफ्नै यात्रालाई नाघ्दै नयाँ–नयाँ पर्वत चढिरहने प्रक्रिया हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार उक्त कृतिले पाठकको हृदयलाई सुस्तरी हल्लाउँदै मस्तिष्कमा गहिरो प्रभाव छोड्ने क्षमता राख्छ। डायस्पोरिक लेखनका क्षेत्रमा सक्रिय घिमिरेको सरल तर आकर्षक भाषा–शैलीले पाठकलाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समीक्षक राजकुमार बानियाले घिमिरेका अनुभवले खारिएका नियात्राहरू नेपाली पाठकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार कृतिमा वर्तमान समयको साक्षी बोल्ने जीवनचेतका मिठा बिम्बहरू प्रस्तुत भएका छन् । विश्व साइकलयात्री पुष्कर शाहले कृतिलाई अनुभूतिको सङ्गीतका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै जीवनका विभिन्न आयामलाई सरल शैलीमा नियात्रामार्फत अभिव्यक्त गरिएको बताउनुभयो ।

कार्यक्रममा लेखक नारायण नेपाल, सम्पादक पारस नेपाल, ओमआस्था राई, नरेन्द्र रौले, निबन्धकार कुमारी लामा, कवि तथा उपन्यासकार रुबी सत्याल, उपन्यासकार अनिता कोइराला लगायत साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सीता रिजालले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रकाशक पुष्पराज पौडेलले दिनुभएको थियो ।