• २०८२ फाल्गुन २१, बिहीबार

‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ सुभाषकुमार बैठालाई

पर्सा ।

साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा भर्ने र उदीयमान प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार–२०२६’ भोजपुरीका सशक्त साहित्यकार सुभाषकुमार बैठालाई प्रदान गरिएको छ । वीरगन्जमा शनिबार आयोजित समारोहमा बैठालाई उक्त सम्मान अर्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले बैठालाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । साहित्यकार दिनेश गुप्ताले आफ्नै नाममा स्थापना गरेको यो पहिलो पुरस्कार हो । बैठालाई उनका चर्चित भोजपुरी कृतिहरू उपन्यास ‘गांव’ र कवितासङ्ग्रह ‘लडाइँ जिनगी के’ का लागि ११ हजार नगद राशि, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरियो ।

कार्यक्रममा बोल्दै पुरस्कारका संस्थापक दिनेश गुप्ताले भोजपुरी साहित्यिक क्षेत्रमा नयाँ प्रतिभावहरूको मनोबल बढाउन आफूले पुरस्कार स्थापना गरेको बताए ।