• २०८२ फाल्गुन १५, शुक्रबार

नेपाली साहित्यमा एउटा पठनीय र गहकिलो रचना ‘अतीतको झझल्को”

शुभराज काफ्ले

शुभराज काफ्ले

जीवनको चार दशक बैंकरको जागिर गरेर रिटायर्ड भएका फुर्तिला मदनराज ताम्राकारले लेखेको आत्मकथा लेखकको आफ्नै हातबाट सप्रेम उपहार पांउदा हर्षविभोर भएँ । पौष १२ गते शनिवार उत्कृष्ट औपचारिक कार्यक्रमका विच अनावरण गरिएको निबन्धसंग्रह पढेपछि केही लेख्न मन लाग्यो । मदनराज ताम्राकारले जीवनका विभिन्न कालखण्डमा भोगेका अनुभवहरू समेटेर सशक्त रुपमा लेखिएको आत्मकथा नेपाली साहित्यमा एउटा पठनीय र गहकिलो रचना बनेको छ ।

साहित्य लेखन आफैँमा गहन विषय हो । त्यस माथि आत्मवृतान्त लेखन त झनै गाह्रो विषय, किनकी त्यसमा पाठकको ध्यान खिच्न र रोमाञ्चकता ल्याउन निकै कसरत गर्नु पर्ने हुन्छ । इतिहास लेख्नु, त्यो पनि आफूले भोगेका अनुभव र विषयहरू समेट्नु भनेको एउटी गर्भिणी महिलाले भोग्नु पर्ने प्रसव पीडा भन्दा जटिल हुन्छ तर त्यसको सौन्दर्य भनेको आफ्नो गर्भबाट जन्माएको सुषुप्त बालक र सुत्केरीको सम्बन्ध भन्दा प्यारो हुन्छ । लेखक ताम्राकारले त्यस्तै प्रसव पीडा भोगेर नेपाली साहित्यको आकाशमा एउटा चम्किलो तारा दिएका छन् “अतीतको झझल्को” ।

अतीतको झझल्कोमा भिन्न–भिन्न समय र परिवेशका कथाहरू छन् । निबन्धका कथाहरूले पौराणिक पाटनको मंगलबजारबाट सुरु भएर देशविदेशका विभिन्न शहरहरुको भ्रमण गराउँछन् । पुस्तकमा उषाकाल, बादल पछाडिको तारा, जिन्दगीका तरंगहरु, सिमरा एक सम्झनामा, भुलभुलैया, चट्ट विश्वास पछुतोको आधार, अदृश्य दायित्व लगायतका विभिन्न १४ बटा निबन्धहरू समेटिएका छन् ।

बाल्यकालमा आफ्नी सानी बहिनी आंटीबाट लडेर विरामी भएपछि आफन्त र माता पिताबाट पाएको आत्मियता र तीव्र ममता देखेर लेखकमा उत्पन्न हुने मनोविज्ञानले मन नजिक खिच्छ । घाईते बहिनीले केही नगरी सबैको ममता र मिठो–मिठो खानेकुरा पाएकोे अनि आफन्तहरुले विस्कुट चकलेट ल्याईदिएको देखेपछि लेखक आफूपनि बिरामी भए त यस्तै मिठो–मिठो खान पाईने रैछ भन्दै कौशीतिर लम्किएको कथाले बालमनोविज्ञानको भावना दर्शाउछ ।

निबन्ध पढिरहँदा कुनै सिनेमाको दृश्य हेरेझैँ लागिरहने “बादल पछाडीको तारा” निकै रोमान्चक छ । झण्डै पचास वर्ष अघिको कलकत्ताको आफ्नो शैक्षिक भ्रमणका बेला एउटा २० बर्षे चुलबुले अधबैसेँले अनुहार समेत बिर्सिसकेकी आफ्नी फुपुलाई भेट्न गरेको कसरत र यात्रा निकै उत्सुकताले भरिएको छ । ललितपुरको एउटा कुनामा हुर्केको ठिटोले वैवाहिक सम्बन्धका कारण परदेशमा कलकत्ताको अन्जान गाउँमा बसाईँ सरेकी आफ्नी फुपुसँग भेट्दाको क्षण भावनात्मक छ । भाषिक विविधताका विच कायम उनीहरुको ममताको भेट वर्णन पढिरहँदा कुनै सिनेमाको दृष्य हेरिरहेको भान हुन्छ ।

लामो अनुभव बोकेर नेपाल बैंकको जागिरबाट रिटायर्ड भएर एभरेष्ट बैंक प्रवेश गरेपछि सिमरालाई कार्यक्षेत्र बनाएका लेखकले त्यहाँ भोगेका अनुभवह पनि सरल र सरस ढङ्गले बुनेका छन् । माओवादी द्वन्दकालमा एउटा बैंकरले भोग्नुपरेको विभिन्न आरोह अवरोहहरू र घटनाहरू समटिएको “सिमरा एक सम्झना” आजको परिवेशमा एउटा ऐतिहासिक दस्तावेज बनेको छ । लेखक मेरो पनि बैंकिंग यात्राको पहिलो गुरु हुन, बैंकिंग करियरको दौरान लेखकसँगै सिमरामा काम गर्ने सौभाग्य पाएको थिएँ । सिमरा एक सम्झनामा निबन्धले मेरा पनि सिमरामा भोगेका फरक जीवन्त अनुभवहरु नोस्टाल्जिक भएर आएका छन् ।

कलिलो उमेरमा लेखकले भोग्नुपरेको मातृवियोग मन छुने छ । भर्खरै पिताजीको वियोगबाट विक्षिप्त म भित्र लेखकले भोग्नु परेको वियोगको कथाले अनेक दुखद समवेदना छल्किएका छन् । परिवारका सदस्य गुमाउनुपर्दाको क्षण कति पिडादायी हुन्छ भन्ने वयान गर्न नसकिने भाव शब्दहरुमा निकै भावनात्मक रुपमा बुनिएका छन् ।

निबन्धमा देश विदेशका विभिन्न कालखण्डमा लेखकले भोगेका नियात्रा समेटिएका छन् । निबन्धका हरेक हरफहरूमा ठट्टा छन्, प्रकृतिका अनेक छटाहरूको वर्णन छन्, निबन्धमा बुनिएका कथाहरु पढिरहँदा मानसपटलमा पृथक रोमाञ्चक रंंिगन चित्रहरु सिर्जित हुन्छन्, मानौँ आफू पनि लेखकसँगै कुनै रमणीय यात्राको साक्षी बन्दैछु ।

निबन्धका कथाहरू वास्तविक हुन, तर लेखकले भोगेका अनुभवहरु पढिरहदा हरेक कथाले काल्पनिक अनुभूति पस्किन्छन् । अष्ट्रेलिया यात्राको दौरान श्रीमतीसँगको भुलभुलैया निकै ठट्यौली र उत्सुक छ । विरानो देशमा संगै यात्रा गरिरहेका श्रीमान श्रीमती एक झिमिकमा एक अर्कासँग विछोड भएको घटनाको प्रसंग निकै रमाईलो ढंगले लेखिएको छ । निबन्धमा अभावदेखि सम्पन्नता, बाल्यकालदेखि युवा तथा प्रौढ अवस्था, पौराणिक पाटनदेखि हालको शहर, नेपालदेखि भारत, मलेसिया, अष्ट्रेलिया हुँदै पशुपतिनाथदेखि चारधामसम्मका यात्रा पढ्न पाईन्छ । पाटनको एउटा सामान्य परिवारमा जन्मिएको बालकले आफ्नो मिहिनेत र परिश्रमले गरेको समृद्धिको जीवनकथा पुस्तक पढ्ने सबैका लागि प्रेरणादायी छ । जीवनको उत्तराद्र्धमा पहिलो साहित्यिक कोशेली प्रकाशन गर्नु भएकोमा आदरणीय मदनसरलाई साधुवाद दिँदै अनवरत साहित्यिक यात्राको लागि हृदयबाट शुभकामना दिन चाहन्छु ।


शुभराज काफ्ले
काठमाडौँ ।