• २०८२ फाल्गुन ६, बुधबार

के.सी.को लघुकथा कृति पाहुरमाथि विमर्श सम्पन्न

भक्तपुर ।

सिर्जना अभियान समाजको आयोजनामा लघुकथाकार लता के.सी.को चौथो लघुकथा कृति पाहुरमाथि भक्तपुरमा साहित्यिक विमर्श सम्पन्न भएको छ । ‘हाम्रो लघुकथा गान’बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि भाषा आयोगका सदस्य एवं स्रष्टा पुष्करराज भट्टले समयअनुसार लघुकथाको सिद्धान्तमा परिवर्तन स्वाभाविक हुने उल्लेख गर्दै स्रष्टा के.सी.ले उत्कृष्ट लघुकथा सिर्जना गर्नुका साथै समकालीन पुस्तालाई पनि लघुकथा लेखनमा प्रोत्साहन गरी विधाको उन्नयनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

कृति पाहुरमा समावेश ६२ लघुकथामा सकारात्मक तथा समाधानमुखी सन्देश, व्यङ्ग्यचेत, पर्यावरणीय चेत, नारी सशक्तीकरण, राजनीतिक विसङ्गति तथा समसामयिक जीवनका विविध विषय समेटिएको समीक्षकहरूले बताउनुभएको छ । साथै बिम्ब, प्रतीक र स्वैरकल्पनाको प्रयोग अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै विज्ञान–प्रविधि र दुर्गम क्षेत्रका पीडाजस्ता विषयवस्तु समेट्न सुझाव दिइएको थियो ।

कृतिमाथि समीक्षकीय मन्तव्य राख्दै स्रष्टा इन्दिरा चापागाईँले लघुकथाकार के.सी.को व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै समसामयिक जीवनका विविध पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताउनुभयो । अर्का समीक्षक हिमलाल श्रेष्ठले लघुकथामा नयाँ विषयको प्रवेश आवश्यक रहेको उल्लेख गर्दै कृतिमा देखिएको पर्यावरणीय चेतबारे चर्चा गर्नुभयो । कवि महेश प्रसाईले सानो आकारमा लेखिने लघुकथाले गहन विषय सम्प्रेषण गर्न सक्ने उल्लेख गर्दै स्रष्टालाई शुभकामना व्यक्त गर्नुभयो ।

कृतिका स्रष्टा लता के.सी.ले आफ्नो कृति पाहुर ‘हाम्रो लघुकथा केन्द्र’बाट प्रकाशित भए पनि सिर्जना अभियान समाजमार्फत विमर्श गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कृतिमाथि हुने परिचर्चाबाट स्रष्टाले थप सिक्ने अवसर पाउने धारणा राख्नुभयो । कार्यक्रममा समाजका सचिव ध्रुव मधिकर्मीले स्वागत मन्तव्य व्यक्त गर्दै लघुकथा लेखनलाई परिमार्जित र सशक्त बनाउन कृतिमाथि विमर्श आवश्यक रहेको बताउनुभयो । समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्व तथा सुदीप हाडाको उद्घोषणमा सम्पन्न कार्यक्रममा स्रष्टा के.सी.लाई सम्मान तथा शुभकामनापत्र प्रदान गरिएको थियो ।