• २०८२ माघ २९, बिहीबार

डा. रुपकका दुई कृतिमाथि परिचर्चा सम्पन्न

काठमाडौं ।

नेपाल मुक्तक प्रतिष्ठानले कवि मुक्तककार डा. रुपक श्रेष्ठका दुई मुक्तककृति ‘चौशूल’ र ‘पोख्तक’माथि चर्चा गरेको छ । ‘पोख्तक’ अंग्रेजीमा अनूदित मुक्तककृति हो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा समालोचक डा. कमल देवकोटाले ‘पोख्तक’ले बहुआयामिक रूपमा पोखराको वर्णन गरेको उल्लेख गर्दै कृतिले पोखराको प्रकृति र सौन्दर्यलाई अहमताका साथ उठाएको बताए ।

डा. देवकोटाले दस वर्षअघि आइसकेको मुक्तकसंग्रह ‘पोख्तक’को अंग्रेजी अनुवाद कृतिकार आफैँले गरेको चर्चा गर्दै यस कृतिले नेपाली साहित्यलाई विश्वमा परिचित गराउने बताए । समालोचक प्रा.डा. भरतकुमार भट्टराईले ‘चौशूल’माथि चर्चा गर्दै यो कृति डा.रुपकको ‘रुपक’ भएको बताए । कृति शक्तिशाली मुक्तकहरूको सँगालो भएको बताउँदै चौशूल बृहत्त मुक्तकीय मेटाफोर भएको उल्लेख गरे ।

कृतिभित्रका मुक्तकहरूमा स्वदेश तथा विदेशका जटिल जीवन भोगाइ प्रस्तुत भएको उनको तर्क थियो । उनले कृतिभित्रका केही कमिकमजोरीको पनि चर्चा गरे । परिचर्चामा साहित्यकारहरू केशव सिग्देल, श्रीओम रोदन, विमल भौकाजी, रमेश पौडेल, स्नेह साय्मि, वियोगी बुढाथोकी, दुर्गा किरण तिवारी, शीतल कादम्बिनी लगायतले टिप्पणी गरे ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले मुक्तकको संरचना र त्यसमा विद्यमान अर्थका तहले त्यसलाई मानक बनाउने बताए । बेलायतमा बसोवास गर्दै आएका पोखरेली कृतिकार डा. श्रेष्ठले पोखरालाई हेर्ने आफ्नो बेग्लै दृष्टि भएको बताउँदै अंग्रेजी ‘पोख्तक’का माध्यमबाट नेपाली मुक्तकसाहित्यलाई विश्वसामु चिनाउने सानो प्रयास गरेको बताए । मुक्तककार रामकाजी कोनेले नेपाली मुक्तकसाहित्य अन्तर्राष्ट्रिय साहित्यमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे ।