कविता
काठमाडौं ।
प्रा.डा. बाबुराम शर्मा पोख्रेलका दुई पुस्तक एकसाथ प्रकाशित भएको छ । डा. पोख्रेलको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुतिपुष्पाञ्जली’ सार्वजनिक भएको हो । डा. पोख्रेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुतिपुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक गरिएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी लगायतले उक्त कृतिहरू सार्वजनिक गरे । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा. पोख्रेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक डा. दिनेशचन्द्र पोख्रेलले उक्त दुवै पुस्तक प्रकाशन गरेका हुन् ।
प्रा.डा. पोख्रेलले पीएचडी गर्दाको विषयलाई संस्कृतमा लेखेको उक्त अनुसन्धान कृति प्रा. नीलमणि ढुंगानाले नेपाली भाषामासमेत अनुवाद गरी पुस्तकको रूप दिएका हुन् । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेको र त्यसको उपपुराणमा ५० खण्ड रहेमध्ये एक खण्ड हिमवतखण्ड रहेको ढुंगानाले बताए । कार्यक्रममा प्रा.डा. त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्रा.डा. पोख्रेल रहेको उल्लेख गर्दै हिमवतखण्डमा मूलरूपमा नेपाल खण्ड पाइने उल्लेख गरे ।
प्रा.डा. विद्यानाथ उपाध्यायले पुराणको शिक्षाले जीवन जगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्रा.डा. पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताए । साथै, स्तुतिपुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उनले बताए । वक्ताहरू प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा. केदार न्यौपानेले सार्वजनिक पुस्तक प्राचीन विषयको अध्ययन गर्न चाहनेहरूका लागि निकै महत्त्वपूर्ण रहेको बताए । पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा. पोख्रेलले पिताको अर्को पुस्तक अर्को वर्ष प्रकाशित गर्ने बताए ।
