समाचार
काठमाडौँ ।
लोकप्रिय लोकभजन गायक टेकराज पोखरेल नयाँ भजन ‘श्री स्वस्थानी देवी तिमी’ लिएर दर्शकमाझ आएका छन् । श्री स्वस्थानी व्रततकथा शुभारम्भकै अवसरमा कोहिनुर मिडिया प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भजनमा श्री स्वस्थानी माताको गुणगान गाइएको छ भने यो भजन गण्डकी (मध्य पश्चिम नेपाल) को स्थानीय लोक लयमा छ ।
धनकला पौडेलको शब्द रहेको भजनको संगीत र कम्पोजिसन गायक पोखरेल र उनको समूहले गरेको हो । भजन गायनमा हरिप्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौशिला पोखरेल, भक्तिराम पोखरेल लगायतले स्वर दिएका छन् । भजनको नृत्य निर्देशन प्रमिता पोखरेलले गरेकी हुन् ।
बाल्यकादेखि नै आफ्नो स्थानीय लबजमा भजन गायनमा अनवरत लागिरहेका टेकराजले लामो समयदेखि आफ्ना भजन रेकर्ड र सार्वजनिक गरिरहेका छन् । यसअघि उनका ‘रिङ्दै घुम्दै,’ ‘वंशुरी हरायो मेरो,’ ‘जय हरहर गंगा,’ ‘दुर्गा भजन’ लगायतका भजन सार्वजनिक भइसकेका छन् । ‘राष्ट्रिय लोक भजन चुड्का संकृति संरक्षण प्रतिष्ठान बागमती प्रदेश’ का महासचिव रहेका उनकाको ‘हरिमन पञ्च आरति’ पहिलो अत्याधिक रुचाइएको रेकर्डेड भजन हो ।
