• २०८२ पुष २७, आईतवार

जुवाको खाल

कात्यायन

कात्यायन

धृतराष्ट्र !
विचार र मनका अन्धा थिए
तर, गान्धारीले आँखामा पट्टि बाँधिन् !
त्यो युग त्यस्तै थियो…
पतिव्रता
विवश
दमित
अवहेलित !
नगरवधु !
राज्य-सम्यन्त्रमा हर्ताकर्ता
सम्मानित
आदरणीय !
र आज
युग दोहरिँदै त हैन ?

त्यो युगमा…
विचार थियो
सम्मोहन थियो
लक्ष थियो
दिग्दर्शन थियो
र, कृष्ण थिए !
जुवा थियो
जुवाडे थिए
र, श्री थापिन्थ्यो
सम्पत्ति थापिन्थ्यो
अर्धाङ्गिनी थापिन्थ्यो
र, आज
जुवाको खाल उही हो
जुवाडे उस्तै हुन्
नगरवधु उस्तै हुन्
धृतराष्ट्र उस्तै हुन्
गान्धारी उस्तै हुन्

फरक, बस् यति छ कि,
कृष्णको रूप फेरिएको छ
छिमेकमा रूपान्तरण भएका छन् नाट्य गुरु
अब वैभव हैन
जुवाको खालमा
देश थापिन्छ !


चाबहिल, काठमाडौं -७