समाचार
भान्सामा तरकारी ऒइरिंदै छोरो ऋदमलाई अह्राइन “बाबु पसलमा गएर एक पाउण्ड दुध ल्याउ त, पैसा सिरानी मुनी छ” । ऋदम कापी किताब अगाडि राखेर गृहकार्यको बहानामा मोबाइलमा झुण्डिरहेको थियो । धेरै पल्ट अह्राउँदा पनि नमानेपछि ऋतुलाई रिस उठ्यो र फतफताउँदै कराईन “मैले जन्माएको छोरो भए पो…. मैले भनेको मान्छ” अनायस उन्को मुखबाट खुस्कियो ।
नेपाल र भारतका विभिन्न सहरका अस्पताल, धामी झाक्री, बैध्य कहाँमात्र पुगिनन् ऋतु । घरी घरी कार्यालयका आफ्ना हितैसी साथीसंगीलाई आफूबाट सन्तान हुन नसकेकोमा निराशा व्यक्त गर्थिन । लोग्नेलाई अर्को विवाह गर्नबाट रोकिन वा लोग्नेले अर्को विवाह गर्न तिर लागेनन् । बच्चा नहुनुमा कमजोरी उनको थियो कि लोग्नेको ? गोप्यनै रह्यो । जब आफूबाट सन्तान हुने उमेर कटिसकेपछि सालनाल सहितको अर्काको बच्चा पाए पाल्ने चाहाना नजिकका साथीसंगीसँग राखिन । एक पटक साथी मार्फत जंगलमा सालनाल सहितको वालिकाको कुरा आउँदा “मागिसकेपछि मोही किन माग्ने ? दही नै माग्ने” भनेर छोरा मान्छे नै चाहिने आसय व्यक्त गरिन ।
समय क्रमसंगै एक अविवाहित केटीबाट जन्मन लागेको अबैध बच्चा उपलव्ध हुने सम्पर्क सूत्र पत्ता लगाइन । त्यसैदिनदेखि उनको कम्मरको पटुकाको फेरो बाक्लिदै गएको थियो । एकदिन त्यो दिन आयो जब सालनाल सहितको छोरो प्राप्त गरिन ऋतुले । खुसीको सिमानै रहेन । त्यसैताका पाटन अस्पतालबाट इन्जिनियर दम्पत्तिले बच्चा चोरेर लगेको भन्ने समाचार सञ्चार माध्यमहरूमा छ्यापछ्याप्ती फैलिरहेको थियो । कतै आफू पनि त्यस्तै समाचारको निशानामा परिएला कि भन्ने डरले थर्कमान थिइन ।
ऋतु धार्मिक परिवारकी ब्राहमणकी छोरी थिइन । जब बच्चा ठूलो हुँदै गयो थेप्चो नाक र चिम्सा आँखाले उनलाई घरी घरी तर्साउन थाल्यो । छोराको शारीरिक बनोट चालढाल देखि ऋतुको भित्री मन त्यती खुसी थिएन जस्तो बुझिन्थ्यो । घुमघाम,चाडपर्व, विवाह व्रतबन्धमा प्रायस् त्यो बच्चालाई लियर हिँडेको कमै देखिन्थ्यो ।
आज अनायसै उनको मुखबाट निस्केको शब्दले उनी स्वयम्लाई असमान्जस्यतामा पारेको थियो ।
चेतन काफ्ले