वसन्तवेला
काठमाडौंँ ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले कवि दैवज्ञराज न्यौपानेको ८२औँ जन्मदिवस तथा १४औँ स्मृतिदिवसको सन्दर्भ पारी विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा ‘दैवज्ञ विशिष्ट स्रष्टा सम्मान’बाट अग्रज कवि छन्दसारथि रमेश खकुरेल, ‘दैवज्ञ साहित्य पुरस्कार’बाट साधक नारायणप्रसाद उपाध्याय अर्याल, ‘दैवज्ञ बालसाहित्य पुरस्कार’बाट अग्रज बालसाहित्य स्रष्टा कल्पना प्रधान तथा ‘दैवज्ञ समाजसेवा पुरस्कार’बाट संस्कृत विद्यासंवद्र्धिनी समिति, धरान, सुनसरीलाई सम्मानित एवम् पुरस्कृत गरियो ।
उक्त अवसरमा कविहरू प्रभा भट्टराई र दिव्यलक्ष्मी पोखरेलले कवि न्यौपानेका रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार रमा शर्मा, प्रा. लालानाथ सुवेदी, प्रा. कोषराज न्यौपाने, प्रतिष्ठानका सचिव कवि प्रह्लाद पोख्रेललगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्रा.डा. शिवकुमार राई र प्रतिष्ठानका आजीवन सदस्य साहित्यकार मुकुन्द वाग्ले ‘पथिक’ले क्रमशः ५० हजार रुपैयाँ र पाँच हजार पाँच रुपैयाँ प्रतिष्ठानको अक्षय कोषका लागि हस्तान्तरण गरेको सचिव पोख्रेलले जानकारी गराए ।
