• २०८२ पुष ५, शनिबार

८८ वर्षीय साहित्यकार पुष्कर लोहनी सम्मानित

काठमाडौँ ।

विद्युतकर्मी साहित्यिक समाजले साहित्यकार पुष्कर लोहनीलाई सम्मान गरेको छ । नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ नामक साहित्यिक कार्यक्रम मार्फत वरिष्ठ साहित्यकार पुष्कर लोहनीको साहित्यिक योगदानको स्मरण गर्दै सम्मान कार्यक्रमको आयोजना गरेको हो । विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य ‘अतृप्त’ को अध्यक्षता र अग्रज साहित्यकार पुष्कर लोहनीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई सम्मानपत्र, माला र दोसल्लाको साथ सम्मान गरिएको हो ।

त्यसैगरी ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ अर्थात् ‘जसको सिर्जना हो उहाँलाई नै सुनाउने’ कार्यक्रममा सभाकक्षमा उपस्थित सबैले सम्मानित स्रष्टा पुष्कर लोहनीका कथा, कविता, मुक्तक, हाइकु, चोका, कटौता आदि उनैलाई सुनाइएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्दै सम्मानित व्यक्तित्व लोहनीले ८८ वर्षको उमेरमा पनि आफूमा साहित्य सिक्ने र सिकाउने ऊर्जा अझै कायम रहेको विचार प्रकट गर्दै सत्यको पक्षमा आफूले निडरतापूर्वक कलम चलाएको तर प्राप्तिका लागि भनेर नलेखेको बताए ।

उक्त समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य ‘अतृप्त’ ले ‘तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौँ’ भन्ने आशय सहित ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ नामक साहित्यिक अभियान सुरु गरिएको बताए । उनले यो अभियानमा आदिकवि भानुभक्त आचार्य, महामानव विश्वेश्वरप्रसाद कोइराला, कवि विष्णुबहादुर सिंह तथा सात युवा कविको समूह (पि सेभेन) को साहित्यिक देनप्रति समर्पित रहँदै सञ्चालन भैसकेको बताए। पाचौँ संस्करणमा साहित्यकार लोहनीलाई सम्झिएको बताए ।

यस अघि ‘तीन तियाँ’, ‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’, ‘लेखन प्रशिक्षण कार्यशाला’, ‘स्रष्टा सम्मान’, ‘पर्यटन साहित्य प्रवद्र्धन’ लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम संचालन गरिसकेकाले पृथक् धारको कार्यक्रम खोज्ने सिलसिलामा यस्तो स्वरूपको कार्यक्रम गर्ने अवधारणाको विकास हुन गई यस प्रकृतिको कार्यक्रम शृङ्खलाबद्ध रूपमा आयोजना गरिएको संस्थाका सचिव युवराज शर्मा (आविष्कार कला) ले बताए । उक्त कार्यक्रममा विशेष अतिथि नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईं, अतिथिहरू वरिष्ठ साहित्यकार तथा शारदा मासिकका सम्पादक विमल भौकाजी, निबन्धकार श्रीबाबु कार्की, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, साहित्यसेवी महालक्ष्मी लोहनी लगायतको उपस्थिति रहेको थियो ।

विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले चलाएको कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, केशव रुपाखेती, विष्णुबहादुर सिंह, पुण्य घिमिरे, रामेश्वर राउत मातृदास’, कृष्णदेव रिमाल ‘शब्दसेना’, विकसास पूर्व उपाध्यक्ष राजु शर्मा, आयोजक संस्था विकसास आठौँ कार्यसमितिका पदाधिकारी सदस्यहरू शारदा पराजुली, मुकुन्दप्रसाद प्रसाई,भोला शर्मा, सङ्गीता अधिकारी, रीता चालिसे, मिमन पुलामी, अनिल पौडेल, रामराजा ओझा, नारायणप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विशेष अतिथि इन्दिरा प्रसाईं, विकसासका पूर्व अध्यक्षहरू एवम् अतिथि साहित्यकारहरू विमल भौकाजी र श्रीबाबु कार्कीले रचना वाचनको पृष्ठभूमिमा विद्युतकर्मी साहित्यिक समाजको सिर्जनात्मक गतिविधि र पुष्कर लोहनीको साहित्यिक योगदानको टिप्पणी समेत गरेका थिए ।