समाचार
काठमाडौं ।
उपन्यासकार बुद्धदेवप्रसाद घिमिरेका दुई उपन्यास ‘माटाको माया ‘र ‘गोफ्ले गोठालो’ लोकार्पित भएको छ । उपन्यास समाजको आयोजनामा भएको उक्त कार्यक्रममा रोचक घिमिरे, प्रा. डा. दयाराम श्रेष्ठ, डा. गोविन्दमान सिंह कार्की, श्रीओम श्रेष्ठ ‘रोदन’, शंकर भारती, उपन्यासकार घिमिरे, उपन्यासकारकी धर्मपत्नि कुसुम घिमिरे लगायतले लोकार्पण गरे ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले यो उमेरमा पनि लेखनीको हुटहुटी बोकेर एकपछि अर्को कृति प्रकाशन गर्ने उपन्यास घिमिरेलाई बधाई दिए । उपन्यासकारले उपन्यासका रचना गर्भको सेरोफेरो बारे बताए । ८४ वर्षिय उपन्यासकार घिमिरेका लोकार्पित कृतिहरुमाथि प्रा. डा. दयाराम श्रेष्ठ र प्रा. डा. गोविन्दमान सिंह कार्कीले परिचर्चा गरे ।
प्रा.डा.श्रेष्ठले माटोको माया माथि टिप्पणी गर्दै उपन्यासले पूर्वी नेपालको तत्कालिन समयको इतिहासको झल्को दिने बताए । उनले उपन्यासको कथा यथार्थ र काल्पनिक पात्रहरु मार्फत अघि बढेको बताए । कृति पठनीय भएकोमा उनको जोड थियो । अर्का चर्चाकार प्रा. डा. कार्कीले गोफ्ले गोठालोको चर्चा गरे । उनले टुहरा अन्तरजातिय दुईपात्रहरुको मुख्य कथाबस्तु उपन्यासले बोकेको बताए । उनले अगाडि भने – ‘उपन्यास भुइँमान्छेको कथा हो । गोपाल र असारीको प्रेमकथा हो । सुपात्रै सुपात्रले भरिएको कथाबस्तु भएको उपन्यास पठनीय छ ।’ कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, डा. तुलसीप्रसाद भट्टराई, विष्णुविभु घिमिरे, रुपेश कोइराला लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रम उपन्यासकार समाजका अध्यक्ष शंकर भारतीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य वियोगी बुढाथोकीले व्यक्त गरेको कार्यक्रमको सञ्चालन माधव चेतनपथले गरेका थिए । पञ्चायतकालमा हिमसागर नामले लेख रचना र कृति छपाउने उपन्यासकार पछि सारस्वत घिमिरे नामबाट साहित्यमा परिचित छन् । यसअघि धरतीको क्रन्दन(कवितासंग्रह) र संवैधानिक राजतन्त्रात्मक बहुदलिय साम्यवाद प्रकाशित भैसकेका घिमिरेले गोरेटो र कनकाई लगायतका पत्रिकाहरुको सम्पादन समेत गरेका छन् ।
