समाचार
काठमाडौँ ।
रावासावा प्राज्ञिक समाज नेपालले स्रष्टा कुमारीकमला राईको ‘आफ्नै तस्वीर’ अनुभवसंग्रह लोकार्पण गरेको छ । रावसावा प्राज्ञिक समाजका अध्यक्ष बम बानियाँको अध्यक्षता र साहित्यकार तथा राष्ट्रिय परीक्षा बोर्ड, सिनामंगलकी निर्देशक जयन्ती सत्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । समालोचक तथा रावासावा प्राज्ञिक समाजका वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकालीले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए । पुस्तकमा जीवन भोगाइ, संघर्ष र समाजका विविध पक्ष सुन्दर रूपमा समेटिएको उनले बताए ।
कार्यक्रममा वक्ताहरूले ‘आफ्नै तस्वीर’ मा आत्मसंघर्ष, सामाजिक यथार्थ र मानवीय संवेदना लोभलाग्दो शैलीमा प्रस्तुत भएको स्रष्टाको प्रशंसा गरेका थिए । लोकार्पणसँगै लेखकसँग संवाद तथा विचार आदानप्रदानसमेत भएको थियो। प्राज्ञ चन्द्र रानाहँछाले चलाएको कार्यक्रममा नियात्राविद् जय छाङछा, शिव भट्टराई, महेश प्रसाई, भरत मगर, केदार न्यौपाने, डाक्टर किराती, यम बाँस्तोला, डा. यादेवी ढकाल, सुधा मैनाली लगायतको उपस्थिति रहेको थियो ।
स्रष्टा राई महिला शिक्षक समाजकी केन्द्रीय उपाध्यक्ष तथा जनकल्याण माध्यमिक विद्यालयकी पूर्व प्रधानाध्यापक हुन् । खोटेहाङ गाउँपालिका–६, खोटाङमा जन्मिएकी स्रष्टा राईका जीवनसँगी प्रा. डा. विष्णु राई नेपाली साहित्यमा उत्तिकै चिनिएका लेखक हुन् ।
