• २०८२ मंसिर २१, आईतवार

डा. मुरली अधिकारीको ‘सत्य गीता’ बजारमा

काठमाडौँ  ।

आध्यात्मिक चिन्तक डा. मुरली अधिकारीद्वारा लिखित ‘सत्य गीता’ बजारमा आएको छ । किताबमा ‘गीता’ ले भनेका मोक्ष साधनाहरूको सत्यमाथि नयाँ ढंगले व्याख्या गरिएको छ ।

‘गीता’ मा श्रीकृष्णले प्राणीलाई समानता शिक्षा दिएका छन् । जस्तो श्रीकृष्ण भन्छन्, ‘हाम्रो सांसारिक सम्बन्ध जस्तो भए पनि व्यवहारमा समानता–भाव हुनुपर्छ ।’ लेखकले ‘सत्य गीता’ लाई ‘मोक्ष साधना ग्रन्थ’ भनेका छन् ।

‘यो साधना ग्रन्थले मानिसको मनमा जन्म–जन्मान्तरदेखि संग्रह भएका त्रिगुणी संस्कारहरू र ‘म’ भावरुप मूल अज्ञान नष्ट गरेर समानान्तर रुपमा मनको समत्वको विस्तार गर्दै परमात्मासाग योग वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने साधना विधिको व्याख्या गर्छ,’ लेखक मुरली भन्छन् । झन्डै अठार वर्षको अध्ययनबाट यो किताब लेखिएको उनको भनाइ छ । लेखकका यसअघि ‘धर्मचक्र प्रवर्तन सुत्त’, ‘विपश्यना साधना’ जस्ता कृति प्रकाशित छन् ।

सयौं वर्षपहिले लेखिएको मानिने गीताको भव्य ज्ञान अझै सान्दर्भिक ठानेर प्रकाशनमा ल्याएको शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले बताए । १८ अध्यायमा बाँडिएको ‘गीता’ माथि आधारित किताब ‘सत्य गीता’ ले गीताको नवीन व्याख्या गरेको छ ।