समाचार
काठमाडौं, मंसिर ४ ।
नेपाली सिने इतिहासमा पहिलो सिल्भर–जुब्ली मानाउने चलचित्र ‘कुसुमे रुमाल’ निर्माण भएको ४० वर्ष पूरा भएको छ । सन् १९८५ मा बनेको थियो कुसुमे रुमाल तर चालीस वर्षपछि पनि चलचित्रको ओज उस्तैगरी कायम छ ।
सदावहार मधुर गीत–संगीत र रोमान्टिक प्रेमकथाले नै आजसम्म यसको ‘रोमान्टिसिजम’ कायम रहेको चलचित्र निर्देशक, कवि एवम् समीक्षक राजेन्द्र शलभ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “कुसुमे रुमालले देशलाई चलचित्र क्षेत्रमा पहिलो ‘ब्लकबस्टर’ र सर्वाधिक कमाइ गर्ने चलचित्र पनि दियो । त्यति मात्रै नभएर पहिलो सिल्भर–जुब्ली मानाउने चलचित्र पनि कुसुमे रुमाल नै हो । चलचित्र २५ हप्तासम्म निरन्तर बक्सअफिसमा अग्र स्थानमा रहेको थियो ।”

८०को दशक र ‘रोमान्टिक प्रेमकथा’ले रचेको इतिहास
चलचित्र समीक्षक शलभ भन्नुहुन्छ, “आफ्नो समयको सर्वाधिक सफल चलचित्र हुनुको पछाडि कुसुमे रुमालको कथानकको ठूलो भूमिका छ, सन् १९८५ ताका कलेजका युवा–युवतिहरूको प्रेम प्रसंग र र्यागिङ्जस्ता कुरालाई चलचित्रमा खासै उतारिएको थिएन । शहरका युवा–युवतिहरूको रङ्ढङ्गलाई कुसुमे रुमालले कलात्मक ढङ्गले पस्केको थियो । जसले त्यतिवेला हजारौँ युवाहरूको ढुकढुकीलाई सम्बोधन गरेको थियो । प्रेमको आदर्श स्थापित गरेको थियो ।”
चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रका निर्देशक तुलसी घिमिरेले सुनिति, अमर र अर्जुनको प्रेमकथालाई पर्दामा उतार्नुभएको थियो । कथानकअनुसार तृप्ति नाडकर अर्थात ‘सुनिति’ र उदित नारायण ‘अमर’ कलेजका सहपाठी र एकअर्काका प्रेममा डुबेका छन् । भने भूवन केसी अर्थात ‘अर्जुन’ जो सुनितिको खेतबारीमा काम गर्ने सामान्य गाउँले युवकको हैसियतमा छन् । जो सुनितिको एकतर्फे प्रेममा पर्छन् । निर्देशक घिमिरेले यति विश्वशनीय कथा र चरित्रचित्रण गर्नुभयो कि जसले चलचित्रलाई सदावहार बनाइदियो ।
कुसुमे रुमालले, पुरानो चलचित्रको युग समाप्त गर्दै एकप्रकारले नयाँ युगको आह्वाहन गरेको समीक्षक शलभ बताउनुहुन्छ । उक्त चलचित्रले समकालीन कथा अर्थात ‘रोमान्टिक प्रेमकथा’ पस्केको कारणले गर्दा नै इतिहास रचेको र व्यापक कमाइ समेत गरेको शलभ बताउनुहुन्छ । उहाँले, सोही कारण चलचित्र प्रति युवावर्गको आर्कषर्ण हुने नै भयो । मैले आफैँले पनि अनेक पटक कुसुमे रुमाल हेरेको बताउनुहुन्छ ।
चलचित्र प्रेमी, नाट्य एव्म सिनेकलाकार प्रियांका झा भन्नुहुन्छ, “कुसुमे रुमालमा दर्शाइएको रोमान्टिक प्रेमकथा, कलेजका दृश्यहरू, केटीलाई लिएर युवाहरूमाझको द्वन्द्वले यसलाई जीवन्त बनाइदियो । त्यसमाथि नायिकाको भूमिका सशक्त छ, उनको अभिनय पनि उत्तिकै सशक्त र जीवन्त छ । चलचित्रको कथानक यस्तो छ जो ठ्याक्कै आजको परिदृश्यसँग मेल खान्छ । भन्नुको अर्थ, जसमा आज पनि एउटा अमर र अर्जुन हुनसक्छ भने सुनिति पनि हुनसक्छे । फेरिएको भनेको परिवेष मात्रै हो ।”
अजम्बरी गीत–सङ्गीतको जादू
‘तिमी नभए जिन्दगानी काँडा सरी छ
फेरि पनि मेरो कुनै गुनासो छैन…’
‘रेली खोला बगर काफल पाक्यो लहर,
माया आऊन बसन लाग्यो रहल…’
यो चलचित्रले नेपाली समाजलाई दिएको अर्को उपहार भनेको सुमधुर गीत–सङ्गीत पनि हो । ‘कुसुमे रुमाल’, ‘रेली खोला बगर’, ‘सुन भन न’, ‘तिमी नभए जिन्दगानी काँडा सरी छ’ जस्ता सदावहार गीतले गाँउदेखि शहरसम्म तरङ्ग ल्याइदिएको थियो कवि–गीतकार धिरेन्द्र प्रेमर्षि सम्झिनु हुन्छ । उहाँका अनुसार, उसवेला रेडियो र टिभीमा चलचित्रका गीतहरू बज्दा दर्शक–श्रोता सम्मोहित झैं हुन्थे । आज पनि ती गीतहरू सुन्दा मन आत्मा विभोर हुन्छ ।
चलचित्रमा चर्चित गीतकार रनजीत गजमेरको गीत–सङ्गीत रहेको छ । उहाँले लेख्नुभएका गीतहरू अजम्बरी भए । जो लाखौं मुटुमा आज पनि तरङ्गीत भइरहन्छ । भने रनजीत गजमेरलाई यस चलचित्रको गीतले अमर बनायो । चलचित्रका गीतहरू उदित नारायण, दीपा झा, श्रवण घिमिरे र भारती घिमिरेले गाउनु भएको छ । भने चलचित्रमा नीर शाह, प्रदीप पाख्रिन, विश्वमनी आदिको सशक्त अभिनय रहेको छ ।
‘कुसुमे रुमाल’ एक उत्कृष्ट चलचित्रको हो । भने यसमा भएको पात्र चयन पनि उत्तिकै सशक्त पक्ष हो । यसका दृश्यहरू जीवन्त छन् । चलचित्रमा गायक उदित नारायण पहिलो पटक नायकको भूमिकामा देखिनु भएको थियो । भने भर्खर अभिनयमा पाइला चाल्न सुरु गर्नुभएका भूवन केसीमा भने त्यतिवेलै पनि नायकत्व झल्किन्छ । त्यस्तै नायिका तृप्तिको अभिनय परिष्कृत छ । नीर शाहको भूमिका महत्वपूर्ण छ भने अन्य कलाकारको भूमिकाले चलचित्रलाई उचाइमा पुर्याउन सफल भएको छ ।
चलचित्रमा लेखन र निर्देशन तुलसी घिमिरेको रहेको छ । भने सयपत्री फिल्मसको प्रस्तुतिमा सर्वाजनिक गरिएको थियो । निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्र क्षेत्रलाई सधैंभरी गर्व गर्न सकिने सदावहार चलचित्र दिनु भयो । चलचित्र ४० औं वर्षमा प्रवेश गर्दा पनि उत्तिकै सान्दर्भिक छ ।
