• २०८२ मंसिर ५, शुक्रबार

१४औं ‘युरोपियन फिल्म महोत्सव नेपाल २०२५’ आयोजना हुँदै

काठमाडौँ  ।

१४ औं ‘युरोपियन फिल्म महोत्सव नेपाल २०२५’ आयोजना हुने भएको छ । कात्तिक २८ देखि ३० सम्म आयोजना हुने महोत्सवमा २५ फिल्म देखाइनेछन् ।
महोत्सवमा देखाइने २५ फिल्ममा, १० युरोपेली, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनीत ६ लघु फिल्म छनोट भएका छन् । नेपालबाट भने ९ फिल्म छनोट भएको हो । महोत्सवमा देखाइने फिल्मले पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरणका मुद्दा उठाइएको आयोजकले सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यो सँस्करणमा पोर्चुगलबाट बाञ्जो, फिनल्यान्डबाट ‘जेभिदा’, अस्ट्रियाबाट ‘ह्याप्पी’, ‘हंगेरी’बाट ‘विथाउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ देखाइनेछन् । बाफ्टा मनोनीत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क’ तथा ‘आडिओस’ समावेश छन् । नेपालीतर्फ ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस तथा इटर्नल किनशिप’ आदि छन् । ‘

फ्रान्स, जर्मनी र फिनल्यान्डसहित काठमाडौं र दिल्लीमा युरोपेली संघका सदस्य राष्ट्रहरुलाई प्रतिनिधित्व गर्ने दूतावास तथा सांस्कृतिक संस्थाहरू तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँगको सहकार्यमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलले यो महोत्सव आयोजना गरेको हो । महोत्सवका फिल्म निशुल्क हेर्न पाइने जनाइएको छ । महोत्सवबीच विभिन्न शीर्षकमा अन्तरक्रियात्मक छलफल र बहस गरिनेछन् ।