• २०८२ मंसिर ३, बुधबार

‘पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व’ विषयक गोष्ठी सम्पन्न

काठमाडौँ

नेपाल लाइब्रेरी फाउन्डेसन, नेपालको सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानले “पठन संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी गरेको छ । पुस्तकालय मार्फत राष्ट्रिय भाषा, संस्कृति तथा साहित्यको संरक्षण–सम्बद्र्धन गर्दै पुस्तक तथा सूचना पहुँच सहज र समावेशी बनाउने, पठन संस्कृतिको विकासमा टेवा पुरयाउने र पुस्तकालयलाई सामुदायिक जीवन्त ज्ञान–केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले कार्यकम गरेको हो । उक्त कार्यक्रममा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन” स्मारिका–२०८२ को लोकार्पण भएको छ ।

प्रतिष्ठानको देवकोटा कक्षमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन र स्मारिकाको लोकार्पण गरेका थिए। कुलपति राईले पठन संस्कृति प्रवद्र्धनमा पुस्तकालयको भूमिकाबारे सारगर्भित मन्तव्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाल लाइब्रेरी फाउन्डेसनका कार्यकारी निर्देशक यज्ञराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए। समालोचक डा. शेखरकुमार श्रेष्ठले उक्त कार्यपत्रमाथि सटिक र विश्लेषणात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सहभागी विभिन्न प्राज्ञ, लेखक, पुस्तकालयकर्मी, शिक्षक, विद्यार्थी तथा जिज्ञासुहरूले प्रस्तुत कार्यपत्रका विषयमा आफ्ना विचार र प्रश्नहरू व्यक्त गरेका थिए । नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिवद्वारा प्रारम्भ भई सचिव शेखर अर्यालले सञ्चालन गरेको कार्यक्रममा नेपाल लाइब्रेरी एशोसिएसनका अध्यक्ष पुष्पराज सुवेदीले “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन स्मारिका–२०८२” को समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास) विभागीय प्रमुख डा. मधुसूदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधागत प्राज्ञ, लेखक, साहित्यकार, पुस्तकालयकर्मी, संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र पाठकहरूको उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपानेले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले विशेष धन्यवाद मन्तव्य दिएका थिए ।