समाचार
चितवन ।
पत्रकार तथा लेखक ददि सापकोटाको छैटौं कृति ‘ज्ञानिका’ सार्वजनिक गरिएको छ। प्रकाशन संस्था ‘फाइनप्रिन्ट’ले नारायणगढमा आयोजना गरेको घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ मा उक्त पुस्तक विमोचन भएको हो । पुस्तकको विमोचन लेखक सापकोटाकी ९३ वर्षीया आमा चन्द्रकला सापकोटाले गर्नुभएको थियो ।
‘ज्ञानिका’मा २१ जना व्यक्तिको परिचयसहित उहाँहरूको योगदान र जीवनकथालाई रोचक शैलीमा समेटिएको छ । पुस्तकमा समेटिएका व्यक्तिहरूमध्ये अधिकांशले पर्यावरण तथा जीव संरक्षणमा उल्लेखनीय काम गर्नुभएको छ । साथै, समाजोपयोगी खोज तथा अनुसन्धानमा संलग्न व्यक्तिहरूको कथाहरू पनि समावेश छन् ।
चितवन राष्ट्रिय निकुञ्जका संस्थापक कर्मचारीदेखि प्रमुखसम्म रहेर योगदान गर्नुभएको रामपृत यादव, वन्यजन्तु प्राविधिक हर्कमान लामा र विष्णु लामा, सामुदायिक वनको उत्थानमा सक्रिय तेजबहादुर सिं महत, सुपरिचित वनस्पति विज्ञ डा.तीर्थबहादुर श्रेष्ठलगायतका जीवनकथा पुस्तकमा समेटिएका छन् ।
सालक संरक्षणमा समर्पित तुलसीलक्ष्मी सुवाल, मलाहा बिरालो (फिसिङ क्याट) सम्बन्धी अनुसन्धान गर्ने रमा मिश्र, र होमस्टेलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने रविभक्त पाण्डेजस्ता व्यक्तिहरूका ज्ञान, अनुभव र योगदान पुस्तकमा समेटिएको लेखक सापकोटाले जानकारी दिनुभयो । चितवन झुवानीका सापकोटा लामो समयदेखि फ्रान्समा बस्दै आउनुभएको छ। उहाँका यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’, ‘दुखेको युरोप’, ‘वनको वैभव’ र ‘जीवगाथा’ नामक पुस्तकहरू प्रकाशित भइसकेका छन् ।
