याम आयाम

काठमाडौं ।
नेपाली व्यङ्ग्य साहित्यका अमर स्रष्टा भैरव अर्यालको स्मृतिमा स्थापित तीन प्रतिष्ठित पुरस्कारहरू भैरव पुरस्कार गुठीले एक समारोहबीच प्रदान गरेको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा भैरव पुरस्कार, भैरव वाङ्मय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गरी तीन विधामा पुरस्कृतहरूलाई सम्मान गरिएको हो ।
२०८२ सालको भैरव पुरस्कार भारत–सिलगुढी निवासी हास्य–व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ। भैरव पुरस्कार पहिलोपटक नेपाल बाहिरका स्रष्टालाई समर्पित गरिएको हो । त्यस्तै भैरव वाङ्मय पुरस्कार चित्रकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ। उक्त पुरस्कार राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ रहेको छ।
यस्तै भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङ निवासी स्रष्टा विवश पोखरेललाई प्रदान गरिएको छ । यो पुरस्कार राशी ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ।
पुरस्कारहरू गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार नरनाथ लुईटेल, के.के. कर्माचार्य, प्रमोद प्रधानलगायतले भैरव अर्यालको नेपाली साहित्यमा विशेष योगदानबारे चर्चा गर्नुभएको थियो । त्यस्तै, साहित्यकार खगेन्द्र संग्रौला र गोविन्द घिमिरे ‘वेदमणि’ले अर्याललाई नेपाली व्यङ्ग्य साहित्यका अद्वितीय प्रतिभा भएको उल्लेख गर्दै उहाँको साहित्यिक यात्रालाई स्मरण गर्नुभयो ।
पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नाममा स्थापित पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको थियो । सोही अवसरमा पुरस्कृत स्रष्टा कृष्ण प्रधानको ४२औं कृति ‘पुरस्कार लुड्याउने’ को लोकार्पण समेत गरिएको थियो । गुठीले पुरस्कार प्राप्तकर्ताहरूको छनोटका लागि साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो । सोही दिन सम्पन्न साधारण सभाले साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति पनि चयन गरेको छ।