नेपाली आधुनिक गजल लेखनका महत्त्वपूर्ण र लोकप्रिय सर्जक बाबु त्रिपाठीको गजलसंग्रह ’बा’ र कवितासंग्रह “सालिकहरुको देश“ भर्खरै पप्रकाशित भएका छन् । चर्चाको शिखरमा रहेको ’बा’ र ’सालिकहरूको देश’का सर्जक बाबु त्रिपाठीसँगको रञ्जना निरौलाले गरेको भलाकुसारी ।
तपाईँका दुवै पुस्तकको प्रमुख विषयवस्तु के के हुन् ?
मैले जहिले पनि सत्ताको विपक्षमानै लेखेँ । बोलेँ । मैले कहिल्यै पनि उपल्लो वर्ग र सत्ताको पक्षमा लेखिनँ र लेख्दिनँ पनि । अनि ती दुईलाई छाडेपछि मसँग बाँकी भनेको समाज र समुदाय थियो । हो त्यही समाज र समुदायनै मेरो कविता र गजलका विषयवस्तु बन्न पुगे ।
पुस्तक तयार पार्दा सबैभन्दा चुनौतीपूर्ण पक्ष के थियो ?
पुस्तक तयार पार्दा म जहिले पनि पाठकहरूको सम्झना गर्छु र आफ्नो प्रतिद्धन्दी आफैँलाई सम्झन्छु । आफ्नो प्रतिद्वन्द्धी आर्फैँलाई सम्झनुनै मेरो मुख्य कुरा लाग्छ ।
गजलसंग्रह र कवितासंग्रहको शीर्षक चयनमा कुनै विशेष कारण वा प्रतिकात्म्क अर्थ छ ?
विशेष कारणचैँ छ । भारतका विश्वविख्यात सायर मुनब्बर रानाले गजलमा आमालाई ल्याउनु भयो । जुन सर्वाधिक रुचाइयो । मैले यसो सोचेँ । गजलमा आमालाई ल्याउन सकिन्छ भने गजलमा बालाई पनि ल्याउन सकिन्छ । त्यसपछि बालाई बिम्ब बनाएर गजल लेख्न थालेँ । भनौँ न बालाई लेख्न थालेँ । २०६६ सालमा संग्रह प्रकाशित गर्ने योजना भयो । अनि किताबको नाम पनि बा राखेँ । कवितामा भने अलि फरक छ । कविता संग्रहको भूमिका लेख्न दिनु अगाडिसम्म मेरो किताबको नाम हरियो क्रान्ति थियो । जब कविता संग्रहको पहिलो संस्करणमा भूमिका लेख्न मैले कवि हेमप्रभासलाई दिने विचार गरेँ त्यसपछि कविता संग्रहको नाम सालिकहरुको देश हुन गयो । यो नाम हुनुमा पनि अनेक कारणहरु छन् ।
पुस्तक प्रकाशनपछि पाठक र समीक्षकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
एक त मेरो किताब नयाँ होइन । गजलको आठौँ र कविताको चौथो संस्करण हो । संस्करण आइरहँदा पनि मेरो कविताको र गजलको संग्रहमा केही नयाँ कविताहरू र केही नयाँ गजलहरू थपिएर आउँछन्, केही हटेर जान्छन् । यसरी संस्करण आउँदा मैले आजसम्म पाठकको बाहेक समीक्षकहरुको समीक्षातिर कहिल्यै ध्यान दिइनँ । उसै पनि म बनिबनाउ समिक्षामा विश्वास गर्दिन । मेरो लागि पाठकहरूनै समीक्षक हुन् ।
तपाइँको दृष्टिकोणमा कविता कि गजल ?
म दुईटै विधामा कलम चलाउने भएकोले मेरा लागि दुवै बराबर छन् ।
नेपाली गजलको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ?
६० को दशकलाई नेपाली गजलको स्वर्ण दशक भनिन्छ र त्यो हो पनि । नेपाली गजलले फड्को मारेको दशक पनि त्यही हो । यसो भनिरहँदा त्यो भन्दा अगाडि गजल लेखिएनन् भन्न खोजेकोचैँ होइन । हाम्रा अग्रहहरुले गजलको गोरेटो कोरिदिनु भो । ६० को दशकले गजलको पिचरोडको कल्पना गर्यो । अहिले गजल ६ लेनको पिच बाटोमा हिँड्ने भएको छ ।
गजलमा आधुनिकता र परम्पराको संतुलन कसरी सम्भव छ ?
एकदम सम्भव छ । त्यो सम्भव हुनैपर्छ । सम्भव नभइकन गजल लेख्न सकिँदैन । लेख्न खोज्छु भनेर पनि हुँदैन ।
तपाईँको लेखनमा प्रेम, समाज र दर्शनमध्ये कुन पक्ष बढी प्रभावशाली छ ?
एउटा कुरा स्पष्ट के हो भने कवितामा पनि गजलमा पनि म प्रेमका बारेमा लेख्न जान्दिनँ । सेरहरुमा कतैकहीँ प्रेमका कुरा आउनु अलग रह्यो मेरा लागि । दर्शनका बारेमा बोल्न झन् गाह्रो छ । मैले लेख्ने भनेको समाज नै हो ।
तपाईँका दृष्टिमा सफल गजलकार बन्नका लागि के कस्ता गुणहरु आवश्यक छन् ?
यो प्रश्नको उत्तर दिनु भन्दा अगाडि म गजलका माली ज्ञानुवाकर पौडेललाई सम्झन चाहन्छु । २२, २३ वर्ष अगाडि उहाँसँग एक भेटमा मैले उहाँलाई सोधेथेँ, सर सफल गजलकार बन्न के गर्नुपर्छ ? उहाँको उत्तर थियो, जीवनमा सफल बाटो तय गर्न ३ कुरामा ध्यान दिनु पर्छ (१) कोशिस (२) कोशिस (३) कोशिस । म अहिलेसम्म पनि यही ३ कुरालाई पच्छ्याइरहेछु ।
गजलमा विवाद छ कि छैन ?
मेरो विचारमा गजलमा विवाद छैन । अब हुँदै नभएको विवादलाई गजलमा विवाद छ भनेर लेख्छन्, बोल्छन् भने मेरो भन्नु पनि केही छैन । लोकतन्त्रमा बोल्नेलाई नबोल भन्न पाइन्न ।
कविताको पुस्तक बिक्रि हुँदैन भनेको पनि सुन्छु यसमा तपाइँको धारणा के हो ?
मैले अगाडि भनिसकेँ, लोकतन्त्रमा बोल्नेलाई नबोल भन्न पाइन्न । बोल्ने छुट छ । अब कसको कविताको पुस्तक बिकेन ? किन कविताको पुस्तक बिकेन ? भन्दै नदुखेको टाउको डोरी बाँधेर दुखाउने पक्षमा म छैन । त्यो त स्वयम् लेखकले खुट्याउने कुरा होला जस्तो लाग्छ । यसको एउटा प्रमुख कारण स्वयम् कवि पनि हो । म भनेँ अब तिहारपछि बा गजलसंग्रहको नवौँ संस्करण र सालिकहरुको देश कविता संग्रहको पाचौँ संस्करणको तयारीमा छु ।
तपाईँको कविताको र गजलको नयाँ पुस्तकचैँ पाठकले कहिले पढ्न पाउने ?
मैले २०६८ सालमा अच्युत घिमिरे बुलबुलसँग बुलबुल कार्यक्रममा भनिसकेँ र अहिले पनि भन्छु गजलको मेरो अब कुनै पनि नयाँ पुस्तक आउँदैछ । कहिल्यै आउँदैन । यही गजललाई साक्षी राखेर मैले साथीहरुलाई भनेको छु, मेरो कविताको पनि नयाँ पुस्तक अब आउँदैन । कहिल्यै आउँदैन । नयाँ पुस्तकमाचैँ २०८३ भित्र गैरआख्यान ल्याउने तयारीमा छु । त्यसैको काम गरिरहेकोछु ।
गजलको कार्यक्रम महफिल र त्यस कार्यक्रमले गजलमा छाडेको प्रभाव केही छ ?
प्रभाव त उसै पनि छ । अझ प्रभाव भन्दा पनि महफिलले ल्याएको तरंग भन्छु म । आज गजलमा जति प्रगति भइरहेछ त्यसको श्रेय महफिललाई दिनपर्छ जस्तो लाग्छ । महफिल सञ्चालन भएको १० वर्ष यता गजलमा कस्तो परिवर्तन आयो ? आज गजलको अवस्था कहाँ छ ? त्यस बारेमा श्रोताहरुनै अझ बढी जानकार हुनुहुन्छ ।
नयाँ पुस्ताका गजलकारहरुलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ ?
लेख्नुमात्रै ठूलो कुरा होइन । लेखनसँगै आफूलाई पनि परिमार्जन गरेर लैजाने क्षमता आफूसँग राख्नुपर्छ र मैले अगाडि भनेझैँ कोशिस जारी राख्नसक्नुपर्छ भन्न चाहन्छु ।