समाचार

आयातित सभ्यतामा गर्व गरेर,
रोदन र कोलाहल मिश्रित
दुर्गन्ध – महानगरीको
कपटपूर्ण व्यवहारले वाक्क भैसकें !
यथार्थ चिन्तन र चेतनाबाट पर,
कठालोमा समाएर नउभ्याउ प्रिय !
मलाई यसै रुपमा स्वीकार गर ।
क्याब्रे,डिस्को र ब्रेक डान्सको
निम्ता स्वीकार्य छैन
भोटो र कछाडमा
मारुनी, धिमे, बेठी र रोदिमै स्वीकार गर ।
हँसिया, हलो र कोदालोसँग,
गहिरो मित्रता गाँसिएको छ,
हत्केलामा पसिना चुमेर–परीश्रम
मन उर्वर धर्तीमा ,
प्रफुल्ल फक्रनु पर्छ प्रिय !
मलाई यसै रुपमा स्वीकार गर ।
रविको न्यानो पोल्टामा,
स्वेत श्रृङ्खलाको नयन पान गर्दै
चराको चिरबिर संगीत,
निर्मल पवनकोसाथ
ऐँसेलु ,बयर, कटुस र काफल चहार्दै,
हृदयको चंगा छाडने बानी परेकोछ ।
कैले मुसलधारे वर्षामा रुझ्न
त कैले प्रचण्ड तापमा
भन्ज्याँङको चौतारीमा शितल ताप्न
छुट्टै आनन्द आउँछ प्रिय !
वातानुकुलितको कुरै नगर ।
मही र ढिँडोमा,
सिस्नु र गुँद्रुकको चटनी,
आफ्नैपनमा मिठास छ
लचकदार डसनामाथि अटेसमटेस
निद्रै पर्दैन
सुकुलमाथि राडीनै पर्याप्त छ ।
भिर पाखामा–
लालिगुराँस, लालुपाते, पारिजात,
बेली–चमेली र सुनाखरीमा फक्रनदेउ ।
“क्याक्टस र मनिल्पान्ट“मा कैद नगर प्रिय !
मलाई यसै रुपमा स्वीकार गर ।
पिंजडाको विलासितामा रम्दैन वनचरी,
जंगली, पाखण्डी असभ्य जे भन…स्वीकार
हिप्पी र पङ्समा स्वीकार्य छैन प्रिय !
मलाई यसै रुपमा स्वीकार गर ।
सभ्यताको खोल ओढाएर –
माथि हेर्ने चस्मा नचढाईदेउ,
नाङ्गा खुट्टाले भन्ज्याङ र चौतारी नाप्दै
खोक्रा पेट र नाङ्गा आङ–झुपडीका बिलाप
सारङ्गी रेटेर
एकक्षण,
इथियोपिया, सोमालिया रुनदेऊ
एकक्षण–रुस्दी तसलिमा भोग्नदेऊ
खबरदार हिटलर फर्कन खोज्दैछ
प्रज्ञा र करुणा आँसुमा टिल्पिलाए
म हिरोसिमा बगदाद सम्झिरहेछु ।
गोर्खालिका ढाल तरवार
अब इतिहासलाई
राडारको संकेत पढिरहेछु ।
साहारा र गोबी
हरीत सगरमाथा खोजिरहेछन्
पुराणका ऋचामात्र नरटाउ प्रिय !
मलाई यसै रुपमा स्वीकार गर ।
जीन्दगी माथि
अङ्क र अक्षरको खेलवाड गर्नेलाई
धावाछरे भनिदिनु
जगत चीर निद्राबाट बिउंझिसकेको छ
अवत् खुलस्त भयौहोला ?
हठ नगर,
बिन्ती छ प्रिय !
आकांक्षा कुण्ठित गर्नहुन्न
मलाई यसै आजादीमा रहनदेऊ
प्रिय ! मलाई यसै रुपमा स्वीकार गर ।
चेतन काफ्ले