• २०८२ आश्विन ३०, बिहीबार

नेपाल स्रष्टा समाजको १९औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।

नेपाल स्रष्टा समाजको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा नेपाल स्रष्टा समाजको १९औँ वार्षिक साधारणसभा सम्पन्न गरिएको छ । साधारणसभाले समाजका सचिव प्रकाश घायलद्वारा प्रस्तुत सांगठनिक प्रतिवदेन तथा कोषाध्यक्ष तारा सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

उक्त अवसरमा उपस्थित अग्रज स्रष्टाहरूले मुक्तक लेखक गोपीकृष्ण थापाको मुक्तकसंग्रह ‘स्पन्दित मन’ लोकार्पण गरे ।
कार्यक्रममा समाजका सल्लाहकार तथा अग्रज साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा र रोचक घिमिरेले समाजले गर्दै आएको साहित्यिक कार्यक्रमहरूको चर्चा गर्दै साहित्यको उत्थानमा समाजको महत्त्वपूर्ण योगदान रहेको बताए ।

साहित्यकार अशेष मल्ल र प्रा.डा.लक्ष्मणप्रसाद गौतमले समाजको कामको प्रसंग उठाउँदै समाजले गुणात्मकतामा ध्यान दिनुपर्नेमा जोड दिँदै साहित्यका विविध विषय र सन्दर्भमा गम्भीर बहस हुनुपर्ने बताए ।
समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले सबैको सल्लाहले आफूहरूलाई काम गर्न उर्जा मिलेको बताउँदै आगामी दिनमा पृथक काम गर्ने बताए ।