समाचार

हेटौँडा ।
गायक एवं पत्रकार बलराम पुडासैनीको स्वरमा रहेको गीत ‘वर पिपलु’को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुंगा टिभिमार्फत् मंगलबार सार्वजनिक गरिएको हो । गीतमा उनलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन् ।
गीतमा किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत छ । भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टुडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ तथा भिडियोको छायांकन गरिएको हो ।
गीतमा प्रेममा पर्ने युवायुवतीहरूको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतारचढाव र पछुतोको गहिरो अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्माभित्र बज्ने मौन र तितो संगीतलाई झल्काइएको छ ।