कविता

काठमाडौं ।
नेपाली छन्दकविताको विकास र स्तरीकरणमा योगदान पु¥याउँदै आएको ‘छन्द–तरङ्ग’ले यस वर्षको छन्द–साधना पुरस्कार–२०८२ घोषणा गरेको छ । संस्थाले विज्ञप्ति जारी गर्दै कवि डा. नवराज लम्साल (धादिङ) लाई ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र युवा पुस्ताबाट सक्रिय कवि पुरुषोत्तम आचार्य (मकवानपुर) लाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गरिने जनाएको हो ।
‘छन्द–तरङ्ग’ले २०७६ सालदेखि हरेक वर्ष छन्दकवितामा दीर्घ योगदान दिने एक जना साधकलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र २०७९ सालदेखि ४० वर्षमुनिका एक जना युवाकविलाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको छ । यसअघि ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट कविहरू रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा. घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी सम्मानित भइक्नुभएको छ । त्यस्तै, ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट युवाकवि सुदेश सत्याल, कविराज पौडेल र रूपक अलङ्कार सम्मानित भइसक्नुभएको छ ।
वि. सं. २०२६ साउन ८ गते धादिङमा जन्मिनुभएको डा. लम्सालले चार दशकभन्दा बढी समयदेखि छन्दकविता साधनामा सक्रियता देखाउँदै आउनुभएको छ । उहाँको महाकाव्यहरू कर्ण (२०६६), धरा (२०७३), अग्नि (२०७८) र कल्प (२०८२) साथै पाइलैपिच्छे सगरमाथा (२०६०), आगो छोपेर कतिन्जेल (२०६२) लगायतका कवितासङ्ग्रह प्रकाशित छन् । रेडियो नेपालका विभिन्न कार्यक्रममार्फत छन्दकविताको प्रचार–प्रसार गर्ने ऐतिहासिक भूमिकाका कारण उहाँलाई ‘नेपाली छन्दकविताको प्रचारक’का रूपमा समेत चिनिन्छ । साथै, गीत, गजल, चलचित्रका गीतहरूमा समेत सक्रिय रहेर साहित्यिक र सांगीतिक दुनियामा उच्च योगदान पुर्याउनुभएको छ ।
वि.सं. २०४२ मा मकवानपुरमा जन्मिनुभएको आचार्यले २०६० को दशकबाट छन्दकविता, गीत, गजल र गायन क्षेत्रमा सक्रियता देखाउँदै आउनुभएको छ । उहाँका भोको मझेरी (मुक्तकसङ्ग्रह, २०६८), मुटु र गीतहरू (२०७०), रोरिङ फ्लेम्स (२०७७), छैनौ कसोरी तिमी (२०७९) र जुनेली (२०८०) जस्ता कृतिहरू प्रकाशित छन् । आफ्नै शब्द, स्वर र लयमा सिर्जना प्रस्तुत गर्दै उहाँले नेपाली छन्दकविताको उत्थानमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ ।
पुरस्कार रकम र कार्यक्रम
‘विशिष्ट छन्दसाधना पुरस्कार’को राशि रु. ४० हजार र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को राशि रु. २० हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कार एक विशेष कार्यक्रममा औपचारिक रूपमा वितरण गरिने ‘छन्द–तरङ्ग’का संयोजक प्रा.डा. देवी नेपालले जानकारी दिनुभयो । २०७५ सालदेखि मासिक रूपमा सञ्चालन हुँदै आएको ‘छन्द–तरङ्ग’को ऐतिहासिक कविताश्रवण कार्यक्रम १९ औँ शृङ्खलापछि कोभिड–१९ का कारण स्थगित भए पनि पुरस्कार भने निरन्तर दिइँदै आएको छ ।