वसन्तवेला

सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक स्रष्टाहरूलाई सम्मान गर्दै गजल गायन कार्यक्रम सम्पन्न भएको छ । शनिबार बेलुका आयोजित ‘काव्य सिजन श्रृङ्खला सिजन-छ’ अन्तर्गत ६ जना गजलकार तथा गायकलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुब गौतम र विशेष अतिथि साहित्यकार डा. महेन्द्रकुमार मल्लले स्रष्टाहरूलाई सम्मान गरेका थिए । सम्मानित हुने स्रष्टाहरूमा गजलकार धिरेन अनुपम, महेन्द्र चन्द महासागर, ऋषि सुदामा, लिला पोखरेल, रमेश सुवेदी र निराजन विष्ट लगायत छन् । उनीहरूका रचनालाई आफ्नो स्वर र संगीतमा प्रस्तुत गर्ने गायक तथा संगीतकार सन्तोष श्रेष्ठलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा गायक श्रेष्ठले छ जना गजलकारका उत्कृष्ट गजलहरू प्रस्तुत गर्दा साहित्यिक माहौल संगीतमय बनेको थियो । श्रेष्ठको गायनलाई तबलामा सुवास गौतम, मुरलीमा ज्ञानबहादुर नेपाली र गितारमा रोहित सिंहले संगीत संयोजनमार्फत जीवन्त बनाएका थिए ।
मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले आयोजना गरेको यस प्रकारको साहित्यिक कार्यक्रमले कर्णाली प्रदेशको साहित्य र संगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको र स्रष्टाको सम्मानले सिर्जनामा थप प्रोत्साहन मिलेको सहभागीहरूले बताएका छन् । कार्यक्रममा उपस्थित अन्य अतिथि तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।