समाचार

ललितपुरः
म्याक्सिलोफेसियल सर्जन डा. विकास देसारको तेस्रो पुस्तक ‘जीवनको यात्राः गन्तव्य’ को लोकार्पण गरिएको छ । गोदावरी नगरपालिकाको बज्रबाराही हलमा आयोजित एक समारोहबिच समालोचक एवं चलचित्र निर्देशक प्रकाश सायमिले उक्त पुस्तक लोकार्पण गरेका हुन् लोकार्पण गर्दै सायमिले पुस्तकलाई जीवन जिउने आधारका रूपमा चर्चा गरे । चिकित्सा पेसामा लागेर पनि कलम चलाउन रुचि राख्ने डा. देसारले पुस्तक प्रकाशन गरेर स्वास्थ क्षेत्रमा इँटा थपेको उनले बताए । यो पुस्तकले जीवन, त्याग र आत्मानुभूतिको अन्वेषण गगरेको उनको भनाइ थियो ।
कार्यक्रममा डा. अर्जुन केसीले आफ्नो पेसाभन्दा अलग क्षेत्रमा दक्षता देखाउनु भनेको एउटा उदाहरणीय कार्य भएको बताए । कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जन, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, डा. केसी, रामचन्द्रमान सिंह, पूर्वस्वास्थ्य सचिव लगायत उपस्थित थिए । पुस्तकमा डा. देसारका व्यक्तिगत अन्तर्दृष्टि र सामाजिक प्रतिबिम्बको विचारशील मिश्रण रहेको पाइन्छ । पुस्तकले जीवन, यसका चुनौतीहरू र पूर्तिको बाटोबारे लेखकका गहिरा अनुभूतिहरूलाई प्रस्तुत गरेको छ ।
डा. देसारले जन्मदेखि मृत्युपर्यन्त मानिसहरूले केका लागि प्रयास गर्छन्, के कस्ता अनुभव गर्छन् र वास्तवमा जीवनको महत्त्व के छ भनेर पुस्तकका सुन्दर ढंगले चित्रण गरेका छन्। रोजगारी र अवसरको खोजीमा छोराछोरी विदेश बसाइँ सर्दा सँगै गएका वृद्ध आमाबाबुले सामना गर्ने कठोर वास्तविकताहरूलाई पुस्तकमा मार्मिक रूपमा समेटिएको छ । यो सामाजिक टिप्पणीभन्दा बाहिर, पुस्तकले आत्म–प्रेम र व्यक्तिगत विकासको शक्तिशाली सन्देश दिन्छ । देसारले कुनै पनि क्षेत्रमा योगदान पुरयाउन पहिले एक व्यक्तिका रूपमा बलियो, दयालु र पूर्ण हुनुपर्नेमा जोड दिएका छन्। ‘जब तपाईं मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा आफ्नो ख्याल राख्नुहुन्छ तब मात्र तपाईं अरूको सेवा गर्न सक्नुहुन्छ,’ उनले भने ।
पुस्तकभरि देसारले जीवनमा उत्पन्न हुने समस्यालाई पनि सम्बोधन गर्छन्, व्यावहारिक र हार्दिक समाधानहरू प्रदान गर्छन् । चाहे भावनात्मक संघर्ष होस् वा सामाजिक दुविधा होस्, अस्तित्वगत प्रश्न नै किन नहोस्, पुस्तकले सबै उमेर र पृष्ठभूमिका पाठकहरूलाई सान्त्वना प्रदान गरेको छ । जीवनका भोगाइहरू, निजी अनुभूतिहरू, विभिन्न चिन्तनहरूसँगै चिकित्सा क्षेत्रमा काम गर्दाका तीतामिठा अनुभवहरूलाई समेटेर पुस्तक लेख्दै आएका देसारले यसअघि ‘रिफ्लेक्सन अफ लाइफ’ र ‘लभ लाइफ एन्ड ह्याप्पिनेस’ नामका दुई पुस्तक प्रकाशनमा ल्याइसकेका छन् । डा. देसार पाटन अस्पताल दन्त चिकित्सा विभागका प्रमुख हुन् ।