समाचार

काठमाडौँ
ललितपुरको टिकाथलीस्थित ‘लोकप्रिय सरु संगीत घर’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार लोकगायिका तथा कलाकार कविता आलेलाई प्रदान गर्ने भएको छ ।
लोक संगीतको क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहेकी आलेले मौलिक सिर्जनामार्फत विशिष्ट योगदान र्पुयाएको भन्दै उनलाई सम्मान गर्न लागिएको हो । यो पुरस्कार प्रतिष्ठित कलाकार तथा समाजसेवी स्व। सरु (सरस्वती) निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला र परिवारले स्थापना गरेका हुन् । गत वर्ष पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी यस वर्षदेखि औपचारिक रूपमा पुरस्कार वितरण थालिएको जेठा छोरा तथा संगीतकार डेनी निरौलाले जानकारी दिए ।
प्रतिभा छनोट समितिको संयोजक संगीतकार कोमल निरौला छन् भने सदस्यहरूमा वरिष्ठ संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई र साहित्यकार डा। रत्नमणि नेपाल रहेका छन् । डेनी निरौला नै समितिका सदस्यसचिव हुन् । २५ हजार नगद राशिसहितको पुरस्कार भदौ १४ गते शनिबार विशेष समारोहबीच प्रदान गरिनेछ ।