• २०८२ आश्विन २२, बुधबार

प्राध्यापक डा. कोइरालाको ’उद्यमी’ सार्वजनिक

काठमाडौँ ।

प्राध्यापक डा. पराशर कोइरालाद्वारा लिखित पुस्तक ‘उद्यमी’ सार्वजनिक भएको छ । आवरण प्रकाशनको आयोजनामा भएको सो समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं पूर्वराजदूत केदारभक्त माथेमा लगायतले पुस्तकको लोकार्पण गरेका थिए । प्रमुख अतिथि माथेमाले देशको सामयिक समस्याका विषयमा पुस्तक लेखेर प्राध्यापक डा. कोइरालले समाधानको बाटो समेत देखाएको बताए । पुस्तकको समीक्षा गर्दै प्राध्यापक डा. पुष्कर बज्राचार्यले पुस्तकमा उठाइएका विषयलाई अझ विस्तारित रूप दिन सके अझ राम्रो हुने तर्क गरे ।

सिटिइभिटीका पूर्व निर्देशक दीपक पौडेलले ‘उद्यमी’को समीक्षा गर्दै पुस्तकमा समेटिएका उद्यमीका कथाहरूले नयाँ पुस्तालाई दृढ आत्मबल र सकारात्मक सोच दिनसक्ने बताए । कृतिकार प्राध्यापक डा. कोइरालाले लेखकीय मन्तव्य दिँदै हरेक मान्छेमा केही गर्ने उद्धेश्य राख्ने नै सफल उद्यमी बन्न सक्ने बताए । आयोजक संस्था आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले देमा अहिले ’उधुमी’हरूको जगजगी भएको बेलामा प्रा. कोइरालले ’उद्यमी’ पुस्तक लेखेर सराहनीय काम गरेको बताए ।

समारोहका सभाध्यक्ष तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. पुरुषोत्तम बाँस्कोटाले पुस्तकलाई उद्यमशीलता प्रवद्र्धन गर्ने महत्वपूर्ण दस्तावेज भएको विचार राखेका थिए । पाँच अध्यायमा विभक्त सो पुस्तकमा हामी र हम्रो बसाइ,प्रतिभा, सक्छु, बिक्री वितरण र युवा सोचाइ रहेका छन् । पुस्तकले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै देशमै उद्यम गरी आत्मनिर्भरताको बाटोमा लाग्न युवाहरूलाई प्रेरित गर्ने सन्देश दिएको छ । पुस्तक भित्रकै पात्र सफल उद्यमी नरेन्द्रराज गिरीलाई सम्मान समेत गरिएको सो समारोहमा प्राध्यपन र पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्त्वहरूको उपस्थिति थियो ।