• २०८२ असार ३१ मङ्गलबार

शहीद

चेतन काफ्ले

चेतन काफ्ले

केहिदिन यता उ बसेको शहरमा चहल पहल निक्कै बढेको छ । ठूलाठूला कपडा र कागजमा तस्बिर र चिन्हले पर्खाल रुख अझ टोलै रंगिएका छन् । मानौ कुनै ठूलै उत्सब नजिकिएको छ । संझ्यो, उ फगत नाङ्गो छ । थरिथरिका मोटर ठूलाठूला स्वरले कराउदै ओहर दोहर गरिरहेका छन् । सम्झ्यो उस्को पेट पूरैखाली छ । नजिकको होटलले फाल्ने गरेका सडेगलेका खाना उसको पक्का नियमित खाना थियो–हिजोदेखि बन्दछ ।

ओहो ! जाडो त साह्रै बढ्यो । उसका तलमाथिका दाँत बज्न थालिसकेका थिए । यसो चारैतिर आँखा दौडायो, सुनसान भैसकेको थियो । गाँस, बास, कपास, गरीबी……कुन्नी के के लेखिएको घरको छतदेखि भुईसम्म झरेको तुल देख्यो र समाएर तान्यो, झरेन । बल गरेर के तानेथ्यो तुल खस्यो र हत्त न पत्त जाडोबाट अलग्गिन बेरिंदै थियो । एउटा जिप हुर्रिएर आयो र तीन चारजना ओर्लिएर कराए- हाम्रो तुल च्यात्ने मण्डलेलाई गोद- चारैतिरबाट मुक्का प्रहार गरे । रगतले मुछिएको शरीर केहीक्षणमानै निश्चल भयो ।

भोलिपल्ट । मानिसको ठूलो जमघट लाग्यो । एकले अर्कोलाई दोषारोपण गरिरहेका थिए । अधिकार जमाउन सफल समूहले आफ्नो झण्डाले बेहेरेर नारा लगाउन शुरु गरे- आज हाम्रा कर्मठ कार्यकर्ताको हत्या भएकोछ, हत्यारा मुर्दावाद !…. बाटोभरी नाराकासाथ विशाल जुलुस आर्यघाट पुग्यो । बरिष्ट नेताले दागबत्ति दिएर जोडले भाषण गरे, हत्याको बदला लिन्छौ…..लिन्छौ…..शहीद…..अमर रहुन ….. मुर्दावाद…..जिन्दावाद ।
आर्यघाट भरी गुन्जिरह्यो…..गुन्जिरह्यो …..


चेतन काफ्ले