English Poem
काठमाडौँ ।
खुट्टाले लेखेर तयार पारिएको पुस्तक अविचलित पाइला भक्तपुरमा आयोजित एक समारोहमा लोकार्पण गरिएको छ । ह्विलचियरमा रहेर मात्रै हिँड्डुल गर्न सक्ने प्रिता बल्लद्वारा लिखित उक्त पुस्तक विमोचन गरिएको हो । अविचलित पाइला कृतिमा लेखक प्रिताले आफ्नो जीवनले अहिलेसम्म गरेका सङ्घर्ष, विभिन्न स्थानको भ्रमण गर्दा प्राप्त अनुभव, सांस्कृतिक, सामाजिक, धार्मिक विषयमा दैनिकी शैलीमा सरल भाषामा प्रस्तुत गरेकी छिन् । पुस्तकमा दुई खण्ड रहेका छन्, जसमा पहिलो खण्डमा प्रिताले लेखेका विभिन्न शीर्षकका ९३ वटा लामा तथा छोटा रचनाहरू समावेश छन् भने दोस्रो खण्डमा प्रिताका बारेमा विभिन्न विद्वान् तथा आफन्तले लेखेका १५ वटा लेखहरू रहेका छन् ।
अनुशीलन नेपालले प्रकाशन गरेको यस पुस्तकको प्रकाशनको व्यवस्थापन भने २०४१ प्रवेशिका समूह, श्री पद्म माध्यमिक विद्यालय, भक्तपुरले गरेको हो । पुस्तकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लोकार्पण गरेका थिए । जीवनाथ अधिकारीले सम्पादन गरेको उक्त पुस्तक दैनन्दिनीय शैलीमा सिर्जना गरिएको छ । कार्यक्रमको सभापतित्व लेखकका पिता पवन बल्ल तथा कार्यक्रमको सञ्चालन लेखककी बहिनी निष्ठा बल्लले गरेकी थिइन् ।
