• २०८२ भाद्र २७, शुक्रबार

सुगम पोखरेलको ‘यति छिटो’ गीत सार्वजनिक

काठमाडौं ।

गायक सुगम पोखरेलले ‘यति छिटो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित गीतकार भूषण खरेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत करिब दुई दशकअघि नै रेकर्ड गरिएको थियो ।

भूषण खरेलको शब्दमा तयार भएको गीतमा संगीत जेम्स प्रधानले भरेका छन्। गीतकार खरेलका “म रोए पनि तिमी हासिदिनु”, “कति बस्छौ ओढी लाजको घुम्टो”, “बिहानी पहिलो किरणसँगै” जस्ता चर्चित गीतहरू लोकप्रिय रहँदै आएका छन् ।

सुगम पोखरेलका अनुसार अहिले संगीत श्रोताहरूको स्वादमा परिवर्तन आए पनि यस गीतले केही वर्षअघिको संगीत शैलीको झल्को दिने विश्वास लिएको बताए । गीतको भिडियोमा गायक सुगम पोखरेलसँगै अभिनेत्री सबिना राउतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन दिनेश थापाले गरेका हुन् । ‘यति छिटो’ गीतको भिडियो गायक सुगम पोखरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।