• २०८२ आश्विन २२, बुधबार

बन्धक सपनाहरू

दीपक चौलागाई

दीपक चौलागाई

यो सुगन्धित माटो,
स्वतन्त्र आकाश,
यी कलकलाउदा खोलानाला,
मिर्मिरेको उदाउदो घाम,
आरोग्यको जैविक उद्यान,
धर्तीको ताज-
सर्वोच्च सगरमाथा
एकदिन तिम्रो हातमा सुम्पेकी थिएँ

यो प्राचीन तपोभूमि,
यी प्राग् ऐतिहासक सम्पदाहरू,
बुद्धत्वको शीतल छाया,
यी अनुपम विविधताहरू
विश्वासको क्षितिजमा
शंकाको एउटै टुक्रा बादल थिएन ।

तिमीले त्यस्तो के गर्यौ
कि
मनभरि
सपनाको घर बोकेर
पाखुरीहरू पलायन भएपछि,
मेरो निधारको उज्यालो
अरबको मरूभूमिमा चम्किन थाल्यो ।

विश्वव्यापी
नवउदारवादको पासोमा फसेर
बग्दै गएको सस्तो पसिना,
दलालको कर्पोरेट दरबारमा
‘भेटी, चढाइएका गोपनियताहरू,
राष्ट्रको गौरवलाई धरौटी राखेर
तिमीले चढेको
उपभोक्तावादको निजी भर्याङ,
र हरेक विवशताको काँधमाथि
थपिदै गएको साम्राज्यको भीमकाय भार ।
तर,
विश्वासको घेराभित्र,
घातको कालो छाया हुनसक्छ
यसरी त मैले कहिल्यै सोचेकी थिइन !

आज,
यी हातहरूमा
अभावको जन्जिर कसिएको छ,
पैतालामा
पराश्रयको नेल ठोकिएको छ,
मेरा सपनाहरू,
असफलताको ब्यथाले थलिएर
अस्पतालको सेतो बेडमा बाँधिएका छन् ।

सुन !
म अझै ढलेकी छैन,
मेरो फाँट कहिल्यै चुकेको छैन,
स्वाधीनताको शिखर झुकेको छैन,
निरन्तरताको नदी रूकेको छैन ।
यो अपराजित भूमिमा
आत्मसम्मानका बिउ उम्रिरहेका छन्,
सन्तानका नशा-नशामा
अझै पनि विद्रोहको आगो दन्किरहेको छ !

एक दिन आउनेछ
बगि गएका माटोका कणहरू
फेरि मेरै काखमा फर्किनेछन्
उनीहरू,
फेरि आफ्नै आङमा
स्वाभिमानको घाम ओढ्नेछन् !
आफ्नै माटो हराभरा पारेर
सपनाको संसार सजाउनेछन्
त्यस दिन मेरो नाम
गर्वले उच्चारण हुनेछ-
नेपाल !
सन्ततिले निर्धक्क भन्न पाउनेछन्-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !


दीपक चौलागाई