समाचार

लेखेर केही हुँदैन, बोलेर केही हुँदैन
ढुङ्गासँग मनको पीडा खोलेर केही हुँदैन
म अनेक घाम झरी, पचाएकी मान्छे हुँ
मलाई समयको रापले, पोलेर केही हुँदैन ।
भ्रम नै भ्रमको छाता ओढेर, बाँच्नु नै जीवन रहेछ
दुस्ख र पीडा बिर्सिएर, हाँस्नु नै जीवन रहेछ
थाहा छ , सपना त निदाएपछि मात्र देखिन्छ
र पनि सपनासंँगै रहर, साँच्नु नै जीवन रहेछ ।
सुखदुःख जीवनको सधैं दुइटा पाटो हुन्छ
प्रकृतिमा जसरी ढुङ्गा अनि माटो हुन्छ
हिंडदै गर्दा कहिलेकाहीँ दोधारमा परिन्छ
रोज्नुपर्ने ठिक बेठिक जब दुइटा बाटो हुन्छ ।
तिमीले मसँग सोध्ने ,धेरै कुरा हुनसक्छ
सोधिहाल्नु नत्र ,इच्छा अधुरा हुनसक्छ
जिन्दगीको के भरोसा आज छ भोलि छैन
यो जिन्दगी प्याट्ट फुटेको, चुरा हुनसक्छ ।
अचेल ,मूर्खसँग दैव डराउने जमाना छ
असल हैन, खराब मन पराउने जमाना छ
म दर्शक ,समयको रमिता हेरिरहेकी छु
सोझालाई बाङ्गाले चराउने जमाना छ ।
तारा सुबेदी