• २०८२ आश्विन ७, मंगलवार

काठमाडौँस्थित टेवाल, सङ्कटा प्राङ्गणमा मातृभाषा कविता उत्सव सम्पन्न

काठमाडौँ ।

मातृभाषा दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिका वडा नम्बर २२ द्वारा आज एक भव्य मातृभाषा कविता उत्सवको आयोजना गरियो । मातृभाषाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय कविहरूलाई सम्मान गर्दै मातृभाषाको महत्त्वलाई उजागर गर्यो । उक्त उत्सवमा वडा नम्बर २२ भित्रका वरिष्ठ कविहरू पुष्प चित्रकार, सुवर्णकेशरी चित्रकार, निरञ्जनरत्न शाक्य, नवीन चित्रकार र श्रीराम श्रेष्ठलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो । साहित्य र कविताको क्षेत्रमा उल्लेखनीय योगदान दिएका यी कविहरूले मातृभाषामा रचित आफ्ना सशक्त रचनाहरू वाचन गरेर दर्शक-श्रोताको मन जितेका थिए ।

कार्यक्रममा विभिन्न मातृभाषाका २५ जना नेपाली भाषा, नेपाल भाषा, बाम्बुले राई भाषा, तामाङ भाषा, भोजपुरी, मैथिली भाषाका कविहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गरे, जसले नेपालका बहुभाषिक संस्कृति र साहित्यिक समृद्धिको झलक प्रस्तुत गर्यो । का.म.पा. २२ नम्बर वडाका वडाध्यक्ष चिनी काजी महर्जनको अध्यक्षता र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यता तथा विभिन्न साहित्यिक र संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको सो अवसरमा मातृभाषाको संरक्षण र प्रवद्र्धनको आवश्यकता विशेष रूपमा उठाइएको थियो ।

मातृभाषामा लेखिएका कविताहरूको वाचन तथा सम्मान कार्यक्रमले मातृभाषाको सौन्दर्य र महत्वलाई पुनः एक पटक उजागर गर्दै सम्पूर्ण उपस्थित साहित्य अनुरागीहरूलाई उत्साहित बनायो ।