• २०८१ कातिर्क २१ बुधबार

विमल गुरुङ कृति पुरस्कार थाम्सुहाङ्को ‘शब्दथुम’लाई

सुनसरी ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ इलामका कवि, निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको छ । बिहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै विमल कृति पुरस्कार थाम्सुहाङको निबन्धकृति ‘शब्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको हो ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल कृति पुरस्कारका लागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तकहरू दर्ता भएका थिए । तीमध्ये यसअघि १० श्रेष्ठ पुस्तक छनौट गरिएको थियो । तिनै १० श्रेष्ठमध्ये थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई विमल कृति पुरस्कार प्रदान गर्न उचित भएको सिफारिस निर्णायक समितिबाट प्राप्त भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

निर्णायक समितिले शब्दथुम निबन्धकृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृति भित्र रैथाने चेतदेखि वैश्विक चिन्तन र मीमांसा पाएको उल्लेख गरेको छ । थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामुलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गर्दै ‘शब्दथुम’ याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्मिलकको कुरान र बौद्धको त्रिपिटकले भन्ने गरेको शब्दशक्तिलाई विश्वास गरेको कृति भएको ठहर गरेको छ ।

थाम्सुहाङको निबन्धकृतिभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहीन रूपमा उतारिएको छ । र, तिनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निबन्धले गरेको छ । निबन्धसंग्रहभित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सिमान्तीकृत चेतलाई उजागर गर्दै शसक्त विचार प्रवाह पनि गरिएको छ । शब्दथुममा माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चचकताले भर्दै आफ्नो समुदाय र परम्परामाथि शालीन विमर्श गरिएको छ ।

याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष समेत रहेका थाम्सुहाङले १७ वर्षअघि ‘पालामको मुर्छन्ना’ कवितासंग्रह प्रकाशन गर्नुभएको थियो । विमल कृति पुरस्कार कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद राशि २ लाख रुपैंया अर्पण गरिने समितिका सदस्य चन्द्र गुरुङले बताउनुभयो ।

यसैगरी, उक्त अवसरमा सुनसरीको तरहरा बसेर नेपाली साहित्यसँगै पत्रकारिता गर्दै आउनुभएका सिर्जनशील युवा विवेक विवश रेग्मीलाई यो वर्षको ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान’ प्रदान गरिने सचीव भीम चाम्लिङले बताउनुभयो । उहाँका अनुसार उक्त अवसरमा सिक्किमा लेखक टिवि चन्द्र सुब्बा, १०३ वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ, अर्का ज्येष्ठ नागरिक विरेन गुरुङलाई पनि सम्मान गरिने छ । सोही दिन उत्कृष्ट १० कवितामध्ये प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई पनि क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने छ ।