• २०८२ भाद्र २९, आईतवार

आख्यानकार सरित् को “एकमुठी घाम” लोकार्पण

काठमाडौँ स्थित पुतली सडकको सहारा क्याफेमा आयोजित एक कार्यक्रममा आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को लघुकथासङ्ग्रह ” एकमुठी घाम” सार्वजनिक गरिएको छ । साहित्यकार दील पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तलगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले साहित्यकार सरित् का रचनाहरू फुटकर रूपमै भए पनि आफूले प्रशस्त अध्ययन गर्दै आएको र विमोचित कृतिमा युग चेतना र समय चेतना प्रवल रूपमा रहेको बताउँदै आगामी दिनमा स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास पनि व्यक्त गर्नु भयो ।

प्रा. डा. गोपीन्द्र पौडेल, डा. शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र डा. पुष्करराज भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रा. डा. पौडेलले विमोचित कृतिका स्रष्टा सरित् बहुमुखी प्रतिभाका धनी भएको र उनी विशेषतः नेपाली साहित्यमा आख्यान लेखनमा अग्रणी रहेको र अब लघुकथा लेखनमा पनि उनको आगमन हुनु सुखद् रहेको कुरा बताउनु भयो । वक्ताहरूले पनि सरित् को करीब पाँच दशक लामो साहित्य साधनाको बारेमा प्रकाश पार्दै विमोचित कृतिले वर्तमान भ्रष्ट राजनीतिलाई उधिनेको कुरा उल्लेख गर्नुभएको थियो ।

विमोचित कृति ” एक मुठी घाम ” लघुकथाका स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् स्वयम् ले पनि आफ्नो साहित्यिक यात्रा र उक्त कृति तयार पार्दाको आफ्नो अनुभव साझा गर्नु भएको थियो । कार्यक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रवन्ध निदेककशक एवम् पत्रकार शिव विक मिलनले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सुभाना मिडिया प्रालिको तर्फबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् लाई “सुभाना आख्यान सम्मान – २०८१” बाट सम्मानित गरिएको थियो ।