काठमाडौं, २०८१ जेठ ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९० औँ शृङ्खलामा साहित्य सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र लेखाव्यवसायीसमेत रहेका अहिलेको समयका अत्यन्त सक्रिय प्रगतिवादी स्रष्टा रामकुमार पण्डित क्षेत्रीका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने महासचिव प्रकाश सिलवालले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, महासचिव नन्दु उप्रेती, नर्मदेश्वरी सत्याल, कणाद महर्षि, अनिल पौडेल, डम्बर पहाडी, त्रिलोचन आचार्य, अच्युत पौडेल, जयराम बिडारी, खेमनाथ निरौला, कविनायककी जीवनसङ्गिनी सुनिता खड्का पण्डितलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।